सहिदहरूको सम्झनामा दीप प्रज्वलन

सौन्दर्य । भ्रष्टाचारविरुद्धका आन्दोलनमा ज्यान गुमाएका जेन जी पुस्ताका सहिदहरूको स्मरणमा ‘मिसेस नेपाल वर्ल्ड २०२५’ की प्रतियोगीहरूले प्रतिनिधि सभा भवन परिसरमा दीप प्रज्वलन गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । यो कार्यक्रमले सहिदहरूको बलिदानलाई जीवन्त राख्दै भ्रष्टाचार न्यूनीकरणका लागि नयाँ पुस्ताको प्रतिबद्धता झल्काएको छ ।

सामूहिक रूपमा दीप प्रज्वलन गर्दै प्रतियोगीहरूले सहिदहरूको योगदानलाई नमन गरे । उनीहरूले भ्रष्टाचारको अन्त्यका लागि एकताबद्ध हुने संकल्प व्यक्त गर्दै भने, ‘सहिदहरूको बलिदानले हाम्रो पुस्तामा परिवर्तनको आगो सल्काएको छ। यो हामी सबैको साझा जिम्मेवारी हो।’ सहभागीहरूको विश्वास छ कि सहिदहरूको योगदानले युवा वर्गमा आशा र सक्रियताको प्रेरणा जगाउनेछ । कार्यक्रममा मिसेस नेपाल वल्र्डको आयोजक संस्था रिबन इन्टरटेनमेन्ट प्रालिका प्रतिनिधिहरू पनि उपस्थित थिए ।

स्थानीय युवा र सामाजिक अभियन्ताहरूको सहभागितामा सम्पन्न यो कार्यक्रम भावुक वातावरणमा झल्किएको थियो । सहभागीहरूले केही क्षण मौन धारण गरी सहिदहरूको आत्माको चिरशान्तिको कामना गरे। यो पहलले नेपालमा भ्रष्टाचारविरुद्धको जनचेतना थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्