फिल्म । थुप्रै हिट र सुपरहिट फिल्मलाई आफ्नो छायांकन कलामार्फत जीवन्त बनाएका कुशल छायांकनकर्ता शैलेन्द्रध्वज कार्की अब निर्देशनमा पाइला चाल्दैछन् । उनले आफ्नो डेब्यु निर्देशनमा ‘पोखरेली मसिनो’ नामक फिल्म निर्माण गर्ने भएका छन् । सोमबार ललितपुरको बंगलामुखी मन्दिरमा विधिवत् पूजाआजासहित फिल्मको शुभमुहूर्त सम्पन्न भएको छ ।
बाबु–छोरीको सम्बन्ध र संघर्षमा आधारित सामाजिक कथावस्तुमा बन्ने यो फिल्म कार्की र उनकी अभिनेत्री पत्नी शान्ति गिरीको संयुक्त निर्देशनमा तयार हुनेछ । फिल्मको निर्माण कार्य पनि कार्कीले आफैं सम्हाल्ने भएका छन् । ‘पोखरेली मसिनो’ चामलको लोकप्रिय प्रजाति मनसरापछिको अर्को प्रजातिको नामबाट प्रेरित शीर्षक हो ।
फिल्मको लेखन शान्ति गिरीले र पटकथा शैलेन्द्र–शान्ति दुवैले तयार गरेका छन् । शुभमुहूर्त कार्यक्रममा निर्माता–निर्देशक दीपेन्द्र गौचन, कलाकारहरू टिका पहाडी, परिक्षा लिम्बु, अविरल प्रताप अधिकारी, उपेन्द्र सुब्बालगायतको उपस्थिति थियो । फिल्मको छायांकन मंगलबार पोखरा पुगेर बुधबारदेखि सुरु हुने गरी ३० दिनको कार्यतालिका तय गरिएको छ ।
फिल्ममा टिका पहाडी, प्रवीण खतिवडा, परिक्षा लिम्बु, माओत्से गुरुङ, अनिल सुब्बा, अंकित खड्का, सजन थापा मगर, अभय बराल, अविरल प्रताप अधिकारी, हिउँवाला गौतमलगायतका कलाकारले अभिनय गर्नेछन् । यो फिल्ममा श्रवण मुकारुङको गीत, कालीप्रसाद बास्कोटाको सङ्गीत, शंकर मर्हजनको द्वन्द्व निर्देशन, शैलेन्द्रध्वज कार्कीको छायांकन निर्देशन र निमेष श्रेष्ठको सम्पादन रहनेछ ।











