फिल्म । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मोहर’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । शुक्रबार औसत सुरुवात गरेको फिल्मको व्यापार शनिबार भने उल्लेखनीय रूपमा बढेको छ । शनिबार बिहानका शोहरू औसत भए पनि मध्याह्नदेखि दर्शकको भीड हलमा बढेको थियो । काठमाडौँ मात्र नभई मोफसलका हलहरूमा पनि बेलुकीका शोहरूमा दर्शकको उच्च चाप देखियो । नेपालगन्जका हलहरूले हिन्दी फिल्मका शोहरू कटौती गरेर ‘मोहर’का शोहरू थपेका छन्।
पोखरा, बुटवल र चितवनमा पनि फिल्मले सुखद व्यापार गरिरहेको छ । शनिबार दिनभर फिल्मका निर्देशक ओम प्रतिक, नायक पल शाह, नायिकाद्वय बेनिशा हमाल र नीति शाह काठमाडौँका हलहरूमा पुगेर दर्शकसँग भेटघाट गरेका थिए । काठमाडौँको अष्टनारायण हलमा दर्शकको ठूलो भीड थियो । नायक पल शाहले दर्शकलाई अभिवादन गर्दै धन्यवाद दिएका थिए ।
दर्शकको उत्साहजनक साथ र सकारात्मक प्रतिक्रियाले आफूहरू उत्साहित भएको नायिकाद्वय बेनिशा हमाल र नीति शाहले बताए । आइतबार पनि फिल्मले सुखद व्यापार जारी राखेको छ । काठमाडौँ र मोफसलका हलहरूमा आजको अकुपेन्सी पनि उच्च रहेको छ । फिल्मका वितरक करण श्रेष्ठले ‘मोहर’ले विगत केही महिनादेखि नेपाली फिल्म उद्योगमा देखिएको व्यापारिक खडेरी तोडेको बताए ।
फिल्म मेकर्स प्रालिको ब्यानरमा निर्मित यो फिल्ममा चुम्बन जंग शाहीको लगानी छ । फिल्मले नेपालको सुदूरपश्चिममा प्रचलित ‘देउकी प्रथा’ र त्यसका अवरोधहरूको कथालाई प्रेमकथासँग जोडेर प्रस्तुत गरेको छ । यसैबीच, नायक पल शाह आज पूर्वका विभिन्न हलहरूमा दर्शक भेट्न पुगेका छन्। काठमाडौँका हलहरूमा भने नायिकाद्वय बेनिशा हमाल र नीति शाह दर्शकसँग भेटघाट गरिरहेका छन् ।












