फिल्म । फिल्म मेकर्स प्रा.लि.को ब्यानरमा निर्मित फिल्म ‘मोहर’ आजबाट प्रदर्शनमा आएको छ । रिलिजसँगै फिल्मले दर्शकबाट बलियो ‘वर्ड अफ माउथ’ पाइरहेको निर्माण पक्षले जनाएको छ । बिहानैदेखि औसत दर्शक उपस्थितिमा प्रदर्शन भइरहेको यो फिल्मको व्यापार दर्शकको सकारात्मक प्रतिक्रियाले बढ्ने वितरक करण श्रेष्ठले विश्वास व्यक्त गरेका छन् ।
चुम्बन जंग शाही निर्माता रहेको यो फिल्म ओम प्रतिकको लेखन र निर्देशनमा बनेको हो । देउकी प्रथाको कथा, पल शाह, बेनिशा हमाल र नीति शाहबीचको त्रिपक्षीय प्रेमको कथानकले दर्शकको मन जितेको छ । बिहानको विशेष शोमा फिल्म हेरेका पत्रकार र दर्शकले ‘मोहर’ अपेक्षाभन्दा उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् ।
दर्शकको सकारात्मक प्रतिक्रियाले नायक पल शाह भावुक बने । काठमाडौंको बीग मुभिजमा पुगेका पलले भने, ‘म अहिले बोल्न सकिरहेको छैन । बलियो निर्देशक र टिमले कलाकारको काम देखाउन सक्छ । हामीले निकै मिहिनेत गरेका थियौं र दर्शकको प्रतिक्रियाले त्यो सफल भएको अनुभव भएको छ ।’
नायिका नीति शाह पनि भावुक देखिइन् । विगतमा आलोचना खेपेकी नीतिको यो फिल्ममा अभिनयको तारिफ भइरहेको छ । उनले यो क्षेत्रमा केही गर्न मिहिनेत गरेको र दर्शकको मायाले उत्साहित भएको बताइन् ।
नायिका बेनिशा हमालको अभिनयको पनि प्रशंसा भएको छ । उनले दर्शकको प्रतिक्रियाले आफूलाई भावुक बनाएको सुनाइन् । निर्माता चुम्बनजंग शाही फिल्मको व्यापार आगामी दिनमा थप बढ्नेमा विश्वस्त छन् । ‘मोहर’ले देउकी प्रथालाई मुख्य विषय बनाएर पल, बेनिशा र नीतिको प्रेमकथाले दर्शकलाई बाँध्ने निर्माण पक्षको दाबी छ । फिल्ममा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, मिथिला शर्मा, रवीन्द्र झा, सारा शर्मा लगायतका कलाकारको अभिनय छ ।










