‘जदौ’ मा राजश्री

फिल्म । आगामी भदौदेखि छायांकन हुने नेपाली फिल्म ‘जदौ’मा नवअभिनेत्री राजश्री थापा अनुबन्धित भएकी छन् । मोडलिङ र स्टाइलिस्टको क्षेत्रमा सक्रिय राजश्रीले गायक सन्तोष केसीको एक गीतमा अभिनय गरिसकेकी छन् । उनको प्रवेशसँगै ‘जदौ’को कलाकार लाइनअप पूरा भएको निर्माण पक्षले जनाएको छ ।

काजी लिम्बू र अन्जन शर्माको संयुक्त निर्देशनमा बन्ने यो फिल्ममा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभातपाल ठकुरी, बिनोद न्यौपाने, गीता अधिकारी, शारदा गिरी, सन्ध्या श्रेष्ठ र अनिल सुब्बालगायतका कलाकारले अभिनय गर्नेछन् । अन्तरजातीय प्रेम र सामाजिक कुरितीविरुद्ध आवाज उठाउने विषयमा आधारित यो फिल्म दाङ र प्युठानका विभिन्न स्थानमा छायांकन हुनेछ ।

सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माणमा बन्ने फिल्मका सहनिर्माता रामराजा सुवेदी, सुमीत्रा देवकोटा, गोकुल केसी र नारायण शास्त्री छन् । बुद्धि माझीको निर्माण व्यवस्थापन रहेको फिल्मको छायांकन श्याम तामाङले गर्नेछन् । काजी लिम्बूको लेखन रहेको यो फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत तथा मिलन श्रेष्ठको द्वन्द्व निर्देशन रहनेछ ।

कमेन्ट गर्नुहोस्