फिल्म । आगामी भदौ २७ गतेदेखि प्रदर्शन हुने फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ को नयाँ पोस्टरमा खुसी र तनावको भाव सँगसँगै देखिएको छ । कलाकारहरूको अनुहारमा मिश्रित भाव समेटिएको यो पोस्टर आज निर्माण पक्षले सार्वजनिक गरेको हो । पोस्टरमा फिल्मका शीर्ष ६ पात्रलाई स्थान दिइएको छ, जसमा कामेश्वर चौरसिया मुख्य स्थानमा छन् ।
लामो कपाल र दारीमा सजिएका उनको अनुहारमा खुसी झल्किन्छ । अन्य कलाकारहरू शिशिर वाङदेल, प्रकाश दाहाल, गौमाया गुरुङ, लक्ष्मी बर्देवा र सरिता गिरी पनि पोस्टरमा छन् । प्रकाश, गौमाया र लक्ष्मीको अनुहारमा भने केही तनाव देखिन्छ । पोस्टरमा सरकारी कार्यालयको उपस्थिति पनि कायम छ । जिल्ला कारागार मोरङ स्पष्ट देखिएको छ भने अर्को सरकारी कार्यालय पनि समावेश छ, तर त्यो कुन हो भन्ने प्रष्ट छैन ।
रङ संयोजन र कलाकारको अनुहारको भावले आँट, तनाव र गंजागोलको संकेत गर्छ, तर यो कुन विषयसँग सम्बन्धित छ भन्ने खुलाइएको छैन । पैसा, सम्बन्ध वा विश्वास जस्तोसुकै कुरासँग जोडिएको हुन सक्ने अनुमान गर्न सकिन्छ । यसअघि सोमबार फिल्मका दुईवटा पोस्टर सार्वजनिक गरिएको थियो, जसमा पनि खुसी र तनावको भावलाई प्रस्तुत गरिएको थियो । फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते रिलिज हुँदैछ भने हिन्दी भर्सन असोज ६ (सेप्टेम्बर २२) मा विश्वव्यापी रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिए ।
फिल्मले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्कने प्रयास गर्ने व्यक्तिको संघर्षको कथा प्रस्तुत गर्ने बताइएको छ । पोस्टप्रोडक्सनमा रहेको यो फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देवा, शिशिर वाङदेल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला मुख्य भूमिकामा छन् ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको यो फिल्म सुशान्त गौतमको डेब्यु निर्देशन हो । मुकेश खनालको लेखन रहेको फिल्मका क्रिएटिभ निर्देशक मदन थापा हुन् । निर्मातामा विनोद पौडेल र गुञ्जन गिरी छन् भने रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता छन् । कार्यकारी निर्माताहरूमा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् । जीवन शाक्य लाइन प्रोड्युसर रहेको फिल्ममा मनोज श्रेष्ठको भिएफएक्स, सुप्रिम पराजुलीको रङ सम्योजन र मदन घिमिरेको सम्पादन र शरद महतोले छायांकन गरेका छन्।










