फिल्म । नेपाली फिल्मको इतिहासमा सर्वाधिक व्यापार गर्ने फिल्म हो, ‘पूर्णबहादुरको सारंगी’ । गएको वर्ष विसं २०८१ को लक्ष्मीपूजामा प्रदर्शन भएको फिल्मले सुरूको तीन दिनसम्म शो टिकाउन निकै मेहनत गर्नुपर्यो । भाइटिकाको दिनदेखि फिल्मले गती लिएपछि दर्शकले टिकट पाउन निकै सङ्घर्ष गर्न पर्यो । यद्यपि सुरूका तीन दिन फिल्मको शो टिकाउन निर्माता विनोद पौडेलले दश लाख बढीको टिकट आफैँले खरिद गर्न पर्यो ।
आफैँ फिल्म बनाउने र शो टिकाउन पनि आफैँ टिकट खरिद गर्ने ? भन्ने विषयले चर्चा र आलोचना दुवै पायो । निर्माता पौडेलले सामाजिक सञ्जालमार्फत आफैँले टिकट खरिद गरेको स्वीकारे । उनै निर्माता पौडेलले काठमाडौँमा आयोजना गरिएको एक अन्तरक्रियामा टिकट खरिद गर्नुको कारण बारे चर्चा गरे ।
उनले भने, ‘हामीले पहिलो दिन पाएको शो दोस्रो दिन पाउँछौँ की पाउदैनौं भन्ने थाहाँ हुँदैन । त्यस्तो अवस्थामा फिल्मको शो टिकाउन टिकट खरिद गर्नुपरेको हो । फेरी हाम्रो लडाई विदेशी फिल्मसँग थियो, केही वितरक र फिल्मकर्मीले हामीलाई उक्त समयमा फिल्म नल्याउन समेत सल्लाह दिएका थिएँ । यदी हाम्रो शो एक हप्तासम्म समान रहन्छ भने म एक रुपैयाँको पनि टिकेट खरिद गर्दिन, अरुले पनि गर्दैनन् होला । तर, यहाँ निकटता, नातावादका आधारमा फिल्मे शो पाउछ, त्यहि भएर हामीले टिकट खरिद गरेर शो टिकाउन बाध्य भएका हौँ ।’
उनले आफ्नो कर्मभूमि अस्ट्रेलियामा कुनै पनि फिल्मले पाउने शो एक हप्तासम्म कायम रहने र दर्शक बढेमा बढ्ने भएकाले टिकट खरिदका कुरा नउठ्ने बताए ।
‘नेपाली फिल्मलाई प्रदर्शकले एक हप्ता विश्वास गरिदिनु पर्यो, व्यापार मात्र सोच्नु भएन । त्यस्तो भएमा हामी निर्मातालाई उर्जा मिल्छ, हामीले टिकट खरिद गर्ने लगायतका अन्य गतिविधीमा समय खर्चिनु पर्दैन । तर, निर्मातालाई प्रदर्शक र वितरकको साथ चाहिन्छ’, निर्माता पौडेलले भने ।
उनले ‘पूर्णबहादुरको सारंगी २’ आउँदो तीन वर्ष भित्रमा दर्शकसम्म पुर्याउने तयारी गरिरहेको बताए । उनले यही भदौंमा ‘अभिमन्यू’ र त्यसपछि ‘रोल नम्बर १’ दर्शकसम्म ल्याएपछि सिक्वेलमा लाग्ने जानकारी दिए ।











