फिल्म । हलिउडका थोरै फिल्म फ्रेन्चाइजीहरू समालोचकहरूबाट प्रशंसित हुन्छन्, र ‘जुरासिक वर्ल्ड’ तीमध्ये एक हो । पछिल्लो फ्रेन्चाइजीको मिश्रित समीक्षाका बावजुद, ‘जुरासिक वर्ल्डः रिबर्थ’ले विश्वव्यापी बक्सअफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
ग्यारेथ एडवर्ड्सद्वारा निर्देशित यो साइ-फाई साहसिक फिल्म गत बुधवार उत्तरी अमेरिकासहित विश्वभर रिलिज भएको थियो । शुक्रबारसम्म फिल्मले विश्वव्यापी रूपमा १ सय ६२ मिलियन डलर कमाइसकेको छ । उद्घाटन सप्ताहन्तमा ३०० मिलियन डलरभन्दा बढी कमाउने अनुमान गरिएको छ ।
युनिभर्सल पिक्चर्स र हलिउड ट्रेड एजेन्सीहरूले रिलिजअघि पहिलो सातामा २ सय ५० मिलियन डलर कमाउने प्रक्षेपण गरेका थिए । तर, हालको प्रवृत्तिअनुसार फिल्मले घरेलु बजारबाट १ सय ५० मिलियन र विदेशी बजारबाट १ सय ७० मिलियन डलरसहित कुल ३ सय २० मिलियन डलर कमाउने अनुमान छ ।
यो फिल्म सन् २०२५ मा हलिउडको सर्वाधिक कमाउने फिल्म बन्ने सम्भावना छ । विदेशी बजारमा पनि बलियो प्रदर्शनका साथ ‘जुरासिक वर्ल्डः रिबर्थ’ले धमाधम रेकर्ड तोडिरहेको छ ।











