‘मिरमिरे’को वर्कसपमा देखिए दयाहाङ र प्रकाश

फिल्म । नेपाली फिल्म ‘मिरमिरे’ को वर्कसप आइतबारबाट सुरु भएको छ । दयाहाङ राई र प्रकाश सपूत मुख्य भूमिकामा रहेको यो फिल्मको वर्कसप कान्तिपुर फिल्म एकेडेमीमा भइरहेको निर्देशक यम शेर्पाले जानकारी दिनुभयो।

‘छायाङ्कनमा सहजता ल्याउन, कथा र पात्रहरूबीच तालमेल बनाउन र कलाकारहरूलाई आफ्नो भूमिकामा सहज बनाउन वर्कसप सुरु गरेका हौँ’, शेर्पाले भने, ‘यसले छायाङ्कन छिटो र प्रभावकारी बनाउन सहयोग गर्नेछ ।’

फिल्मको छायाङ्कन यही शुक्रबारबाट काभ्रेमा सुरु हुनेछ। ‘मिरमिरे’ मार्फत दयाहाङ र प्रकाशले पहिलोपटक सहकार्य गर्दै छन् । निर्देशक शेर्पाको यो दोस्रो फिल्म हो, जसमा उनले यसअघि ‘कार्साङ’ मा पनि दयाहाङसँग काम गरिसकेका छन् ।

यार्सा फिल्म्सको प्रस्तुति रहेको ‘मिरमिरे’ मा दयाहाङ र प्रकाशसँगै सिर्जना निङलेखु र माओत्से गुरुङको पनि अभिनय रहनेछ । फिल्मको कथा र निर्देशन यम शेर्पाले गरेका छन्, यद्यपि कथाबारे उनले खुलाउन चाहेनन् । फिल्मका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा छन् भने सह-निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन् । कार्यकारी निर्माता तथा वितरक रोहित कट्टेल (आरआर फिल्म्स) रहेका छन् । फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ।

कमेन्ट गर्नुहोस्