‘कमेडी दरबार’को मञ्चमा राजेन्द्र लिङ्देन र कोमल ओली

ओटीटी । लोकप्रिय हास्य कार्यक्रम ‘कमेडी दरबार’को पछिल्लो एपिसोडमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा (एमाले) की केन्द्रीय सदस्य कोमल ओली पाहुनाको रूपमा सहभागी भएका छन् । मङ्गलबार साँझ छायांकन गरिएको यो एपिसोडमा लिङ्देन र ओलीको उपस्थितिले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो । राप्रपाको राजावादी आन्दोलन र कोमल ओलीको राप्रपाबाट एमालेमा प्रवेशसँग सम्बन्धित विषयलाई रमाइलो ढङ्गबाट प्रस्तुत गरिएको छ ।

राजेन्द्र लिङ्देनले ‘कमेडी दरबार’मा पाहुनाको रूपमा सहभागी हुन पाउँदा खुसी लागेको बताए । यस्तै, कलाकार तथा नेतृ कोमल ओलीले ‘कमेडी दरबार’ पहिलेदेखि नै हेर्दै आएको र आफूमाथि व्यङ्ग्य भएको देख्दा थप रमाइलो लागेको बताइन् ।

उक्त एपिसोडमा सुन्दर खनाल पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिकामा प्रस्तुत भएका छन् भने कमेडियन खबपु (चञ्चल मगर) राजेन्द्र लिङ्देन र पवन खतिवडा (म्याकुरी) कोमल ओलीको अवतारमा देखिएका छन् ।

श्रद्धा प्रसाईंको निर्देशनमा सञ्चालित यो कार्यक्रमलाई बिक्की अग्रवाल र सजिना खनालले होस्ट गर्दै आएका छन् । कार्यक्रममा उत्सव सापकोटा, हिमेश पन्त, पवन खतिवडा, सुजिता श्रेष्ठ, सुन्दर खनाल, बिटी कान्छा, विकास अर्याल, सरोज भण्डारी, पवित्रा शाक्य (मिस पबी) लगायतका कलाकारले प्रस्तुति दिँदै आएका छन् । यो एपिसोडमा ऋतिज केसी र खबपु मगर अतिथि कमेडियनको रूपमा सहभागी थिए ।

कार्यक्रमका स्क्रिप्ट राइटर विकास अर्याल र सरोज भण्डारी हुन् । मनोज गजुरेल महाराजा र गौरी मल्ल महारानीको भूमिकामा छन् भने केही एपिसोडका लागि निर्देशक प्रदीप भट्टराई महाराजाको भूमिकामा देखिएका छन् । यो एपिसोड आगामी शुक्रबार प्राइम टेलिभिजन र ओएसआर रियालिटी युट्युब च्यानलमार्फत प्रसारण हुनेछ ।

कमेन्ट गर्नुहोस्