फिल्म । फिल्म ‘मिरमिरे’मा अभिनेता दयाहाङ राई अनुबन्ध भएका छन् । यो फिल्ममा उनले मुख्य भूमिका निर्वाह गर्नेछन् । ‘कार्साङ’ फिल्मबाट डेब्यु गरेका निर्देशक यम शेर्पाको दोस्रो निर्देशकीय परियोजनाका रूपमा ‘मिरमिरे’ निर्माण हुँदैछ । नयाँ वर्ष २०८२ को अवसरमा थिम पोस्टर सार्वजनिक गर्दै शेर्पाले सोही वर्ष फिल्म रिलिज गर्ने घोषणा गरेका छन् ।
‘हामीले अहिलेका पहिलो रोजाइका अभिनेता राईलाई ‘मिरमिरे’मा अनुबन्ध गरेका छौँ । यो हाम्रो दोस्रो सहकार्य हो । कथावस्तु मन परेपछि यो सहकार्य सम्भव भएको हो । हामी अर्को सामाजिक ड्रामा लिएर दर्शकमाझ आउँदै छौँ’, निर्देशक शेर्पाले भने ।
फिल्मको कलाकार लाइनअप बलियो हुने निर्देशक शेर्पाको दाबी छ, यद्यपि अन्य कलाकारबारे उनले खुलासा गरेका छैनन् । यार्सा फिल्म्सको प्रस्तुति रहेको यो फिल्मले ग्रामीण परिवेशको सामाजिक कथा प्रस्तुत गर्नेछ । केही समय अगाडि सार्वजनिक गरिएको थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र मिरमिरे बिहानको सूर्यको पहिलो किरणमा उभिएर सूर्यतर्फ फर्किएको दृश्य समेटिएको छ ।
फिल्मको कथा र निर्देशन शेर्पाकै हो । निर्माताहरूमा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा छन् भने सह-निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ छन् । रोहित कट्टेल कार्यकारी निर्माताको भूमिकामा छन् । फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ ।












