‘बलिदान’ मा यस्तो छ समीरको लुक्स

फिल्म । लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा चर्चामा रहेको ‘बलिदान’ को रिलिज मिति औपचारिक रूपमा घोषणा भएको छ । निर्देशक सन्तोष सेन नेतृत्वको निर्माण टिमले फिल्मलाई २०८२ सालको फूलपाती (असोज १३) मा सार्वजनिक गर्ने निर्णय गरेको छ । सेनले प्रमुख कलाकार समीर भट्टको दुई पोस्टर लुक्स सार्वजनिक गर्दै यो फिल्म नेपालको सार्वभौम भूमिमा भइरहेको शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको सङ्घर्षमा केन्द्रित रहेको उल्लेख गरेका छन् ।

सार्वजनिक गरिएको एक पोस्टरमा पृष्ठभूमिमा कालिमातालाई राखिएको छ भने समीरले हातमा त्रिशूलसहितको ठुलो हतियार बोकेका छन्, जहाँ उनी आफ्नो लक्ष्य पुरा गरेपछिको भावमा देखिएका छन् । निर्देशक सेनका अनुसार यो पोस्टरमा समीरले दानव प्रवृत्तिका मानिसहरूको बलि चढाएपछिको दृश्य हो । दोस्रो पोस्टरमा समीर यत्रतत्र छरिएका लासहरूको बीचमा छन्, जहाँ उनले एक व्यक्तिको खुट्टा समाई लतारिरहेका छन् । यो पोस्टरले समीर नरसंहारमा रहेको सङ्केत गर्छ ।

निर्देशक सेनका अनुसार ‘बलिदान’ निर्माणको निर्णय लिनु मात्र सहज थिएन, यसको तयारी, छायाङ्कन र सम्पादन प्रक्रियामा टिमले अपार मेहनत गर्नुपरेको छ । उनले भने, ‘जब मैले यो निर्माण गर्ने सोच बनाएँ, तब यति ठुलो बलिदान दिनुपर्छ भन्ने कल्पनासम्म गरेको थिइनँ । जीवनभर बगाएको रगतपसिनामध्ये सबैभन्दा धेरै यसैमा बगाएको महसुस भएको छ ।’

यसको कथा लेखकहरूसँगको निरन्तर संवादपछि तयार पारिएको सेनले जनाए । उनका अनुसार यो कुनै एउटा समयको कथा मात्र नभई, हिजो, आज र भोलीसम्मको सन्देश बोकेको छ । शोषित वर्गको आवाज बुलन्द पार्न कुनै सम्झौता नगरिएको उनले बताएका छन् । कलाकार छनोटदेखि प्रविधि र प्रविधिजन्य पक्ष, निर्माण व्यवस्थापन, गीत-सङ्गीत र सम्पादनसम्म उच्च स्तरको बनाउन अहोरात्र परिश्रम गरिएको उनले उल्लेख गरे । सेनले फिल्मको प्रि-प्रोडक्सन प्रक्रिया अब पूर्ण भएको र पोस्ट-प्रोडक्सनको लागि दक्षिण भारतीय चलचित्र उद्योगको प्रविधि र सीप उपयोग गरिरहेको बताए ।

यसमा दक्षिण भारतीय चर्चित एक्सन निर्देशक स्टन्डर साम को नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिबाट एक्सन दृश्य खिचेको छ । विशेष गरी, फिल्मको क्लाइमेक्स दृश्यका लागि बुढासुब्बा मैदानमा ४२ फिट अग्लो कालीमाताको भव्य मूर्ति निर्माण गरिएको थियो, जसले निकै चर्चा बटुलेको थियो ।

यसमा ‘१२ गाउँ’ बाट चर्चामा आएका अभिनेता समीर भट्ट प्रमुख भूमिकामा छन् । साथै, अनुभवी कलाकारहरू सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ । यसको सङ्गीत आर्टमान्डु टिम को सहकार्यमा तयार पारिएको छ । गायक सुजन चापागाईँ, गीतकार हर्क साउद र निर्देशक नवीन चौहान सहितको समूहले गीत, ब्याकग्राउन्ड म्युजिक र अन्य साङ्गीतिक पक्षमा काम गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्