‘लाज शरणम’ प्रचारप्रसार नगर्न र नगराउन अन्तरिम आदेश

फिल्म । पाटन उच्च अदालतले प्रदर्शन तयारीमा रहेको चलचित्र ‘लाज शरणम’को प्रचारप्रसार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा नगर्न र नगराउन अन्तरिम आदेश दिएको छ ।

पूर्वमन्त्री मोहम्मद अफताव आलमले आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको र त्यसलाई रोक्न माग गर्दै दायर गरेको रिटमा सुनुवाई गर्दै आज मंगलवार न्यायाधीधद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

पूर्वमन्त्री आलमले गत माघ २४ गते दायर गरेको रिटमा चलचित्र विकास बोर्ड, नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, केन्द्रीय जाँच समिति, ओ.एस्.आर. डिजिटल इन्टरटेनिङ्ग द नेशन प्रा.लि., जे.पि.टी. क्रीयशन प्रा.लि., जे.पि.टी. क्रीयशन प्रा.लि. को संचालक एवं चलचित्रको कार्यकारी निर्माता अर्जुन घिमिरे ‘पाँडे’, चलचित्रको लेखक तथा निर्देशक कुमार कट्टेल र चलचित्रमा मोहम्मद अफताब आलमको मुखाकृत आवरणमा अभिनय गर्ने कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ लाई प्रतिवादी बनाईएको छ ।

अदालतको आदेशसँगै चलचित्रको बुधवार सार्वजनिक गर्ने भनिएको ट्रेलर रोकिएको छ । साथै, महाशिवरात्रीको अवसर पारेर फागुन १४ गते प्रदर्शन गर्ने भनिएको चलचित्र ‘लाज शरणम’ को प्रदर्शन पनि अन्यौल भएको छ ।

कमेन्ट गर्नुहोस्