फिल्म । दीपक रौनियारको निर्देशनमा निर्माण भएको फिल्म ‘राजागंज’को टिजर सार्वजनिक भएको छ । बुधबार सार्वजनिक फिल्मको टिजरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ । टिजर रिलिजको पूर्वसन्ध्यामा सार्वजनिक फिल्मको मुख्य महिला पात्रको लुक्सले पनि सिनेमाको टिजरप्रति दर्शकमाझ प्रतिक्षा थियो ।
यसमा सात महिला पात्रलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ । दयाहाङ राई, आशा मगराती, विजय बराल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपती राई, पूर्वमिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा र नीरज श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको फिल्मले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठुला फिल्म महोत्सवमा आफ्नो प्रभाव जमाई सकेको छ । यो गत कात्तिक एकै महिनामा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो ।
प्रतिष्ठित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो । ब्राजिलियन लेखक पाओलो कोहेलोले सार्वजनिक रुपमै रौनियारको प्रशंसा गरेका थिए । आगामी चैत्र १ गतेबाट नेपालभरका फिल्म घरमा रिलिज हुनेछ । यो फिल्मलाई नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा रिलिज गर्ने भएका हुन्न् । सत्य घटनाबाट प्रेरित रहेको ‘राजागञ्ज’ले नेपाल र भारतको सीमावर्ती शहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा उठाएको छ ।
यसको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् ।












