फिल्म । गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली फिल्मले दर्शकको राम्रो साथ पाएका छन् । अहिले हलमा नेपाली फिल्मकै दबदबा देखिएको छ । व्यापारमा पनि विदेशी भन्दा नेपाली फिल्म निकै अगाडि देखिएका छन् । मङ्सिर ७ देखि प्रदर्शनमा आएको फिल्म ‘तेल भिसा’ ले पनि सुरुआती समयमा राम्रो व्यापार गरिरहेको निर्माण पक्षले जानकारी दिएका छन् । शुक्रबार फिल्म दर्शकको उपस्थिति राम्रो देखिएको र शनिवारका अधिकाँस शोमा दर्शकको चाँप बढेको वितरक करण श्रेष्ठले बताए ।
‘तेलभिसा हेर्न परिवार नै आएको पायौं । शुक्रबार दिनभर र शनिवार विहानी शोमा देखिनुभएका दर्शक र उहाँले दिनुभएको प्रतिक्रियाले हामी उत्साहित भएका छौँ ।’
शनिवार प्राप्त अधिकाँस शोमा दर्शकको उपस्थिति बलियो देखिएपछि निर्माण समूह विभिन्न हल पुगेर दर्शकसँग साक्षात्कार गरिरहेको छ । दर्शकबाट प्राप्त प्रतिक्रियाले फिल्मले ‘वर्ड अफ माउथ’ का आउँदा दिनमा अझै राम्रो गर्नेमा निर्माण समूह विश्वस्त छ ।
फिल्म ‘तेल भिसा’ मा अभिनेता विपिन कार्की, ऋचा घिमिरे, पूजा चन्द, वर्षा राउत, बुद्धि तामाङ, सुचित्रा उप्रेतीसहित अमेरिकी कलाकारहरुले अभिनय रहेको छ । शङ्कर घिमिरे निर्देशित फिल्ममा छोराको सन्तान हुने भएपछि नेपालबाट अमेरिका गएकी आमाले बेहोर्नुपरेको कानुनी झमेलाको कथा देखाईएको छ ।












