फिल्म । छायांकनरत सिनेमा ‘फेरी रेशम फिलिली’को पहिलो सेड्युल बाह्र दिनमा सकिएको छ । काठमाडौं र काभ्रेको पाँचखाल गरिएको छायांकन सकिए लगत्तै दोस्रो चरणको छायांकन तिहारपछि कार्तिक २२ गते बाराबाट सुरु हुने निर्माता रौनक विक्रम कडेलले बताए ।
यो विसं २०७२ सालमा रिलिज भएको ‘रेशम फिलिली’को सिक्वेल हो । यसको मुख्य भूमिकामा विनय श्रेष्ठ, सुपुष्पा भट्ट र कामेश्वर चौरासिया रहेका छन् । विनय र कामेश्वर अघिल्लो भागका कलाकार हुन् भने सिक्वेलमा सुपुष्पाको प्रवेश भएको छ । पहिलोलाई प्रणव जोशीले निर्देशन गरेका थिए भने ‘फेरि रेशम फिलिली’लाई निरोज महर्जनले निर्देशन गरिरहेका छन् ।
यसमा विनय, कामेश्वर र सुपुष्पासँगै नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको अभिनय रहने छ । यसको कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सह-निर्मातामा एनी थापा छन् ।
सिनेमा आर्ट्स, वि मोशन पिक्चर्सको सहकार्यमा निर्माण भईरहेको फिल्ममा सुसन प्रजापतीको छायांकन, निरोज महर्जन र आकाश बरालको पटकथा तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन वाइवा र दीपक शर्माको संगीत रहेको छ ।











