फिल्म । निर्देशक प्रदीप भट्टराईले टेलिभिजनका लागि शृंखला निर्माण गरेकालाई दर्शकको टेस्ट केही हदसम्म थाहा हुने बताएका छन् । आफू पनि टेलिभिजन हुँदै फिल्म निर्देशनमा आएको प्रसंग सुनाउदै निर्देशक भट्टराईले ‘लाज शरणम्’ को औपचारिक घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा सहभागी हुँदै काम नभई माध्यम मात्र फेरिएको भन्दै आफ्नो शैलीमा काम गर्न सुझाव दिए ।
‘तपाईले दर्शकको नाडी छामिसक्नु भएको छ । टेलिभिजन वा शृंखलामा काम गर्दा दर्शकको बुझ्नु भएको भावनालाई फिल्ममा नहटाउनु होला । कर्म उही हो, माध्यम फेरिएको हो’, निर्देशक भट्टराईले भने ।
उनले आफू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य युनिभर्सिटीको विद्यार्थी भएको बताउदै फिल्म निर्माणमा भित्रिदै गरेको नयाँ पुस्तालाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए । ‘टेलिभिजन हुँदै ठूलो पर्दामा आएकालाई सिनेम्म्याटिक हुन नसकेको आरोप लाग्ने गरेको छ, यसलाई चिर्नु होला । तर, दर्शकलाई निराश बनाउने काम नगर्नु होला । पछिल्लो केही वर्ष प्रि-प्रोडक्सनमा खर्चेको चिज अब फिल्ममा हेर्न पाउनेमा विश्वस्त छु’, उनले भने ।
‘सक्किगोनि’ मार्फत दर्शक माँझ चर्चित भएका जिग्री पाँडे समुहले फिल्म निर्माण घोषणा गरेका हुन् । नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह-निर्माताको रुपमा रहेको फिल्ममा निर्देशक कट्टेलसँगै अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) कमलमणी नेपाल (खुपीका बाउ), माला लिम्बु, विजय बराल र मुकुन्द श्रेष्ठको मुख्य भुमिका रहनेछ । यही वर्षको फागुन १४ अर्थात् महाशिवरात्रीको अवसर पारेर फिल्म प्रदर्शनमा ल्याउने घोषणा गरिएको छ ।











