‘मेयर’ घोषणा

फिल्म । दीपेन्द्रकुमार खनालको निर्देशन रहने फिल्म ‘मेयर’को बुधबार शुभ-साइत गरिएको छ । दरबारमार्ग स्थित चतुर्भुज नारायणस्थान मन्दिरमा शुभ-साइत गर्दै फिल्मको छायांकन फागुन १२ गतेदेखि सर्लाहीमा गरिने निर्माण पक्षले जानकारी दिएको छ । सर्लाही जिल्लाको बागमती नगरपालिकाका मेयर भरत थापाको जीवनसँग प्रभावित भइ तयार हुने फिल्ममा उनको भूमिका अभिनेता खगेन्द्र लामिछानेले निर्वाह गर्नेछन् ।

फिल्ममा वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्यदेब, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, संजोग रसाईली, अशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतका कलाकारको अभिनय रहनेछ । यसै फिल्मबाट निर्देशक खनालकी सुपुत्री श्रृष्टिमाँ खनालले निर्माताका रुपमा र मेयर थापाकी छोरी अर्विशाले कलाकारका रुपमा डेब्यू गर्दैछिन् ।

यसमा शर्मिला पाण्डेसमेतको निर्माण रहनेछ भने संगीत जे वाइवा र कल्याण सिंहको रहनेछ। महेश दवाडीको पटकथा रहेको फिल्मलाई कृष्ण थापाले छायाँकन गर्नेछन्।

‘पशुपति प्रसाद’, ‘धनपति’ र ‘पशुपति प्रसाद २ : भष्मे डन’ पश्चात निर्देशक खनाल र अभिनेता लामिछाने चौथो पटक सहकार्य गर्दैछन् । विसं २०६५ सालमा स्ववियु अध्यक्षमा उम्मेदवारी दिएपछि राजनीतिज्ञको रुपमा परिचित भएका थापाले सर्लाही क्षेत्र नम्बर तीनबाट संविधानसभाको दोस्रो निर्वाचनमा उम्मेदवारी दिनुभएका थिए । यद्यपि उनलाई विसं २०७४ मा स्थानीय तहको निर्वाचनमा मात्र राजनीतिक सफलता प्राप्त भयो । त्यसयता उनी सोही नगरपालिकामा दोस्रो कार्यकालका लागि नगरप्रमुख पदमा छन् ।

कमेन्ट गर्नुहोस्