फिल्म । हिमाली जिल्लामा मनाङ ‘खुस्मा’को पहिलो सेड्यूलको छायाँकन सुरु भएको छ । माघ १० गतेबाट सिनेमाले आफ्नो पहिलो सेड्यूल सुरु गरेको हो।हिउँका दृश्यहरु सिनेमाको महत्वपूर्ण अंग भएकाले मनाङमा सिनेमा छायाँकनका लागि पुगेको हो। यो सिनेमाबाट अभिनेता धिरज मगर र अभिनेत्री उपसना पाण्डेले पहिलोपटक रिल जोडी बनेर पर्दामा आउँदैछन्।
सिनेमालाई डेब्यू निर्देशक अशोक थापा मगरले निर्देशन गरिरहेका छन् । अशोक डकुमेन्ट्री फिल्मबाट अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत निर्देशक हुन्। उनले डकुमेन्टरी फिल्ममा नौ वटा विभिन्न अन्तरर्राष्ट्रिय फिल्म फेस्टिभलबाट अवार्ड प्राप्त गरिसकेका छन् । यो सिनेमाबाट उनले फिचर सिनेमामा डेब्यू गर्न लागेका हुन्।
मनाङमा आफ्नो १० दिने सुटिङ तालिका सकेर युनिट बाँकी छायाँकनका लागि पूर्वी रुकुम जानेछ। ॐएम मिडिया प्रा.लि.को प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा बेताने मगर, चन्द्र भट्टचन, मोहन राई र सुस्मिता बुढाथोकी निर्माता रहेका छन् ।
‘खुस्मा’मा एस डी योगीले सुरेन्द्र राना तथा राम अविरल विष्टको गीतमा संगीत दिनेछन् भने दिपक बज्राचार्य छायाँकार रहनेछन् । सिनेमामा धिरज र उपसनाका अलावा अस्तित्व भट्टचन, खड्क बहादुर पुन (खबपु) तथा अरुण मगरको अभिनय रहनेछ । प्रेम कथामा आधारित ‘खुस्मा’ एम मिडिया प्रा.लि.को ब्यानरमा निर्माण हुनेछ । सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्नेछ ।











