फिल्म । केहि दिन अगाडी सार्वजनिक गरिएको फिल्म‘ऐंचो पैंचो’ मा समावेश गीत ‘काले केटाले’ दर्शकको रोजाईमा परेको छ । गीतमा बनिरहेको रील र टिकटकले यसको लोकप्रियतालाई प्रमाणित गरेको छ । ती प्लेटफर्ममा सुहाउँदो र लोकप्रिय हुने शब्द र सङ्गीत भएकै कारण दर्शक यसला झुम्मिएका छन् । लोक र आधुनिक गीत सिर्जनाको शिखरमा रहेका रहेका सर्जक एकनारायण भण्डारीको शब्दरचना रहेको गीतमा संगीत र स्वर आशिस अबिरलको छ । आशिसलाई अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन् ।
गीतले प्रेमी-प्रेमिकाले आफ्नो प्रेमी-प्रेमिकासँग देखाउने एटिच्युड प्रस्तुत गरेको छ । आफूलाई सुनसँग तुलना गर्दै प्रेमीलाई फलाम भएको रोमान्टिक व्यङ्ग्य गर्ने गीतमा दुवैले एकअर्कालाई मन पराउने तर रमाइलोका लागि एकले अर्कोलाई जिस्काउने भाव छ । केटाले देखाउने समर्पणमा मदहोस प्रेमिका गीतको सारांश हो । गीतको भिडियोमा एलेक्स विश्वकर्मा (पारस) केन्द्रीत छ । साथमा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुषाल, सुशील सिटौला, कोसिस क्षेत्रीको अभिनय छ । यो गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी आकर्षक र फिल्मी छ ।
निर्माण पक्षले गीतको भिडियोलाई कलरफूल बनाउन कुनै सम्झौता गरेको छैन । सार्वजनिक भएको छोटो समयमै युट्युबमा करिब १९ लाख पटक गीत हेरिसकेका छन् । मल्टिस्टारर फिल्म ‘ऐंचो पैंचो’ सुरुवाती प्रचार सामग्रीदेखि नै सम्भावना देखाएको छ। सार्वजनिक टिजर र यसका दृश्यले फिल्म राजनीतिको पृष्ठभूमीमा रहेको संकेत गरेको छ । भदौ १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मलाई कृषा चौलागाईंले निर्देशन गरेकी छन् ।
केपी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोशिस क्षेत्री, रमेशबुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायत कलाकारको अभिनय रहेको छ ।
प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको फिल्ममा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराजगहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत रहेको छ । रेनिश फागोकको कलर, सत्यम राणाको भिएफएक्स, मुकेशशाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्रअधिकारीको सम्पादन छ ।










