फिल्म । चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्ने भएको छ । आगामी असार १,२ र ३ गते दाङ जिल्लामा उक्त महोत्सवको आयोजना गर्ने जेठ २ गते बसेको बोर्ड बैठकले निर्णय गरेको बोर्ड सदस्य रवि अधिकारीले जानकारी दिए ।
महोत्सवमा बालबालिकासँग सम्बन्धित तथा बालबालिकाले नै बनाएका लामा तथा छोटा शिक्षामुलक चलचित्रहरुको प्रदर्शनी हुनेछ। साथै, चलचित्रज्ञान सम्बन्धि हाजिरीजबाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी एवम् फोटो प्रदर्शनी तथा चलचित्र नृत्य प्रतियोगिता समेत हुनेछ।
महोत्सवको दौरान ‘बालबालिकासँग भुवन केसी’ सेगमेन्ट आयोजना हुनेछ जहाँ स्थानीय झाँकी र साँस्कृतिक प्रदर्शनीसहित बोर्ड अध्यक्ष तथा विशिष्ट अभिनेता केसीको परिचयात्मक श्रव्यदृश्य सामग्री समेत प्रदर्शन हुने सदस्य अधिकारीले बताए ।
बालबालिकाहरु माझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अगाडी बढाउने, बालबालिकाहरुलाई चलचित्रको अभ्यास गराउने, बाल चलचित्र क्लब गठन तथा संचालनमा प्रोत्साहन गर्ने, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय बाल चलचित्र महोत्सवहरुमा नेपालका बालबालिकाहरु तथा उनिहरुले बनाएका चलचित्र सहभागी गराउन मद्दत पुऱ्याउने, आदि उद्देश्यहरुका साथ राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्न लागिएको हो।










