‘प्रसाद २ को कथा मद्वारा भनिनुपर्छ भन्ने लाग्यो’ : सुदर्शन

फिल्म। ‘प्रसाद’ का निर्देशक दिनेश राउतले कथा अगाडि बढ्ने परिस्थिति नरहेको भन्दै निर्देशन नगर्ने घोषणा गरेका थिए । त्यही कारण दोस्रो शृङ्खलालाई सुदर्शन थापाले निर्देशन गरेका छन् । निर्देशक थापाले नयाँ कथा, पात्र र परिवेश भएकै कारण निर्देशन गरेको बताए। ‘मेरो लागि यो नयाँ फिल्म हो। मलाई प्रसाद नै मन परेको थियो। सिक्वेल अफर आएपछि यो कथा मद्वारा भनिनुपर्छ भन्ने लगेर भनेको हुँ’,निर्देशक थापाले भने। उनले ‘प्रसाद २’ मा अन्तरजातीय सङ्घर्ष, सामजिक द्वन्द्व, वर्गीय विभेदलाई फिल्ममार्फत प्रस्तुत गरिएको बताए।

लेखक सुशील पौडेलले फिल्मको कथामार्फत बावुराम र नारायणीको सङ्घर्षलाई प्रस्तुत गरिएको बताए। ‘पहिलो शृङ्खलामा प्रेम गरेवापत जातीय विभेदकै कारण चलचित्रको मुख्य पात्र बाबुराम र नारायणीले गाउँ छोडेर सहर बसाइँ सर्न बाध्य भए । तर सहरमा घटेको घटनाले उनीहरूलाई भाग्नु समाधान होइन भन्ने ज्ञान दियो’, लेखक पौडेलले भने, ‘देशमा राजनीतिक परिवर्तन आइसकेपछि राज्यको भरोसामा उनीहरू गाउँमा गएर आफ्नो अस्तित्वलाई परिभाषित गर्न खोजे । उनीहरूको अन्तरजातीय र वर्गीय सङ्घर्ष तथा बाँकी जीवनलाई देखाउन हामीले दोस्रो शृङ्खला तयार गरेका हौँ ।’

अभिनेता विपीन कार्कीले बाबुराम र अभिनेत्री केकी अधिकारीले नारायणीको भूमिका निर्वाह गरेका छन् । सहरमा घटेका घटनाक्रमलाई साथ रहेर सामना गरेका बाबुराम दम्पती गाउँ फर्किने तयारी गर्छन् । देशमा आएको परिवर्तन गाउँसम्म पुगेको आशमा सुखी जीवन बिताउने सपना बोकेर उनीहरू आफ्नै थलोमा फर्किन्छन् । उनीहरू बस्ने गाउँलाई सुन्दरबस्ती भनिएता पनि त्यहाँ विभेद कायम नै छ ।मूलकथा प्रेम बनाइए पनि परिवर्तनलाई संस्थागत गर्न राजनीतिको सहायता लिइएको छ ।

‘यो कथालाई मैले न्याय दिनसक्छु भन्ने लागेर नै निर्देशन गरेको हुँ । संविधानतः नेपाल सबै जातको फूलबारी भनिए पनि व्यवहारतः त्यसो हुन सकिरहेको छैन । यसलाई हामीले प्रस्तुत गरेका छौँ’,निर्देशक थापाले भने । प्राय सहरिया प्रेमकथालाई चलचित्रमा प्रस्तुत गर्नुहुने निर्देशक थापाले यसपटक भिन्न परिवेशलाई पर्दामा देखाउनेछन् । उनले चलचित्र बनाउने प्रक्रियामा आफ्नोपन दिएको बताए ।

‘यसको निर्माणशैली मेरोअनुसार छ । तर कथामा मौलिकता छ । यसमा हाम्रै समाजलाई चित्रण गरेका छौँ । सरल कथा र प्रस्तुती छ’, निर्देशक थापाले भने, ‘बाहिरी रूपमा देखिएका उतारचढावले चलचित्रलाई असर गरेको छैन । मैले सोचे जस्तो चलचित्र बनाउन सफल भएको छु । धन्दापछि मैले फरक शैली रोजेको हुँ ।’ अघिल्लो भागको विपिन कार्की बाहेक केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी नयाँ अनुहार हुन्।फिल्ममा सुदर्शन बस्नेत निर्माता रहेकाछन् भने सुभाष थापा प्रस्तुतकर्ता हुन्। यसलाई गोपालकाजी कायस्थले वितरण गर्दैछन्।

कमेन्ट गर्नुहोस्