बोर्डले ‘सिनेमा साइबर सेक्युरिटी’को डेडिकेटेड डेस्क सञ्चालन गर्ने

फिल्म। चलचित्र विकास बोर्डले हटलाइन नम्बर सहितको ‘सिनेमा साइबर सेक्युरिटी’को डेडिकेटेड डेस्क सञ्चालन गर्ने भएको छ । मंगलबार बोर्डको हलमा एक कार्यक्रमको आयोजना गरि उक्त डेस्कको लागि सिस्टम विकासको काम सुरु भएको जानकारी दिँदै साइबर सुरक्षासँगै बोर्डलाई डिजिटल प्रविधिमा लैजाने सम्मका योजनाहरु ‘डेमोस्ट्रेसन’ समेत गरिएको छ ।

कार्यक्रममा सूचना प्रविधि विभागका महानिर्देशक प्रेम शरण श्रेष्ठ, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदिप शर्मा पौडेल, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका रजिष्ट्रार प्रल्हाद प्रसाद पुडासैनी, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक रबिन्द्र रेग्मी, प्रहरी प्रधान कार्यालयका प्रहरी बरिष्ठ नायब उपरिक्षक रुपक खड्का, प्रहरी निरिक्षक खेमराज खनाल, प्रहरी बरिष्ठ नायब निरिक्षक सन्तोष लामा, प्रहरी नायब निरिक्षक कोपिला केसी, बोर्डका सदस्य केएल बुढाथोकी, चलचित्र सम्बन्धित संघसंस्थाका अध्यक्षहरु तथा अन्य पदाधिकारीहरु, चलचित्रकर्मीहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा रोबोटिक्स एकेडेमी अफ नेपालका फाउण्डर बिक्रान्त कार्की र आईडिया ब्रिड आईटी सोलुशनका निबेश किरण अधिकारीले संयुक्त रुपमा सिनेमा साइबर सेक्युरिटी डेस्कबारे डेमोस्ट्रेसन देखाउनु भएको हो । यि दुई आईटी कम्पनीले उक्त डेस्कको लागि सिस्टम विकासको काम गर्नेछन् ।

नेपाली चलचित्र उद्योगले सामना गरिरहेको साइबर हमलाबाट कसरी छुटकारा पाउने बिषय र बोर्डले चाल्न लागेको कदमबारे छलफल गर्न कार्यक्रमको आयोजना गरिएको बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले बताए । अध्यक्ष केसीले ‘साइबर सेक्युरिटी’ एक जटिल मुद्दा हो भन्ने जानकारी रहेको र यसलाई बहुपक्षीय दृष्टिकोणबाट सम्बोधन गर्नुपर्ने भएकोले नेपाली चलचित्र र चलचित्रकर्मीहरुले भोगिरहेका साइबर खतराहरू न्यूनीकरण गर्न नेपाल सरकार, नेपाल प्रहरी, चलचित्र निर्माताहरू, सामाजिक सञ्जाल प्लेटफर्महरू र अन्य सरोकारवालाहरूसँग मिलेर काम गर्ने बताए ।

साथै, उहाँले यो पहलले नेपाली राष्ट्रिय चलचित्र उद्योगको हितको रक्षा मात्र नभई नेपालको डिजिटल अर्थतन्त्रको समग्र विकासमा पनि योगदान पुर्‍याउने विश्वास लिएको र चलचित्र निर्माताहरूको बौद्धिक सम्पतीको संरक्षण गर्दै थप रचनात्मकता र नवीनतालाई प्रोत्साहन गर्नतर्फ चलचित्र विकास बोर्ड सदैव दृढ रहेको बताए ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक पौडेलले बोर्डले चालेको कदम अत्यन्त महत्वपूर्ण रहेको बताउँदै प्रविधि केन्द्रले आवश्यकता अनुसार सहकार्य गर्ने प्रतिबद्धता जनाए । त्यस्तै, सूचना प्रविधि विभागका महानिर्देशक श्रेष्ठले पनि साइबर सेक्युरिटी डेस्कलाई आवश्यक सहयोगको लागि नेपाल सरकार तत्पर रहेको बताए । रजिष्ट्रार पुडासैनीले साइबर सेक्युरिटी र बौद्धिक सम्पतीको संरक्षण परस्पर रहेको बताउँदै सहकार्य गर्ने उल्लेख गरे ।

कमेन्ट गर्नुहोस्