फिल्म। दुई च्याप्टरमा निर्माण हुने फिल्म ‘द अनब्रेकेबलः अगस्त्य’मा थप दुईजना कलाकार अनुबन्ध भएकाछन् । निर्माण टिमले अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महतसँग सम्झौता गर्दै जानकारी सार्वजनिक गरेको छ। अघिल्लो महिना फिल्ममा अभिनेता सौगात मल्ल अनुबन्धित भएका थिए ।
सौगात, नाजिर र मलिका अभिनय रहने फिल्म एक्सन जनरामा तयार हुनेछ। सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्मको कथा उनकै हो । उनले दुवै च्याप्टरको कथा तयार पारिसकेका छन् । प्रकाश मल्ल र अनिष तामाङले निर्माण रहने फिल्म डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा तयार हुनेछ। नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुने फिल्मलाई राजेश श्रेष्ठले छायांकन निर्देशन गर्नेछन्।
फिल्मका लागि अन्य कलाकारहरु पनि चाँडै अनुबन्धित गरिने निर्देशक चौधरीले बताए । फिल्ममा नेपालीसँगै भारतका केही नाम चलेका कलाकारको पनि अभिनय रहनेछ । चाँडै भारतीय कलाकारसँग सम्झौता गर्ने तयारीमा निर्माण टिम छ । आगामी वैशाख अन्तिमबाट सुटिङ सुरु गर्न लागिएको फिल्मको शीर्षक हिन्दु धर्मका सप्तऋषिमध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको हो ।












