राष्ट्रपति भण्डारीद्वारा ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार २०७८’ प्रदान

सङ्गीत। नेपाली मौलिक गीत, सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टाहरूलाई ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान तथा पुरस्कार २०७८’ प्रदान गरिएको छ । नातिकाजी स्मृति समाजले ‘नातिकाजी श्रेष्ठ’ को ९८ औँ जन्मजयन्तीकाे अवसरमा शुक्रबार शीतल निवासमा आयोजना गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो ।

कार्यक्रममा नेपाली गीतसङ्गीतको क्षेत्रमा विशिष्ट योगदान खर्च पुर्‍याउनुहुने सर्जकहरु मनबहादुर मुखिया, दीप तुलाधर, दीपा नारायण झा, प्रदीपराज पाण्डे, फणिन्द्र राई, विके राना, कन्हैया सिंह परियार, शुभ मुकारुङ र अमर बान्तुलाई ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान–२०७८’ प्रदान गरिएको थियो । एकनारायण भण्डारी, कालीप्रसाद बासकोटा, राज सिग्देल र माण्डवी त्रिपाठीलाई ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार–२०७८’ प्रदान गरियो ।

यसैगरी, देवेन गिरी, दीपक शर्मा, कृष्ण काफ्ले र अस्मिता अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार–२०७८’ प्रदान गरिएको कार्यक्रममा सङ्गीत गुरु चन्दनकुमार श्रेष्ठलाई ‘नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार–२०७८’, लोक गायिका देवी घर्तीलाई ‘नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार’ र रविन कार्कीढलीलाई ‘नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा वाद्य पुरस्कार’ दिइयो ।

कार्यक्रममा रंगपत्रकारद्वय डब्बु क्षेत्री र कुबेर गिरीलाई ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार–२०७८’ प्रदान गरिएको थियो। नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भूजीत बासकोटाले नेपाली सङ्गीतको मौलिक सिर्जनाका क्षेत्रमा नातिकाजीको अतुलनीय योगदानको रहेको चर्चा गरे ।

कमेन्ट गर्नुहोस्