फिल्म । फ्राइडे फिल्म अन्तर्गत ‘बाबरी’ प्रदर्शनमा आएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित सुरेन्द्र पौडेलको निर्देशनमा तयार फिल्ममा अदिति बुढाथोकी शिर्ष भूमिकामा छिन् । उनले विजेता उर्फ बाबरी, धिरज मगरले विक्रान्त र धिरज नाडकरले रोनिसको भूमिका निर्वाह गरेका छन् । पूर्वी नेपाल लेटाङ र सिक्किमको गान्तोकमा छायांकन गरिएको बाबरीको कथा यी तीनकै वरपर घुमेको छ ।
आफूले माया गरेको विजेता अरु कसैको पर्खाईमा रहेको थाहा पाएपछि हुने अन्तरद्वन्द्व नै कथासार हो । विजेताले आफूलाई माया गर्ने विक्रान्त र आफूले माया गर्ने रोनिस मध्ये कसलाई रोज्लिन् ? यो थाहा पाउन हलसम्मै पुग्नुपर्छ । डेब्यू अभिनेता धिरज नाडकर कलाकार तृप्ती नाडकरको छोरा हुन् । तृप्तीले भिडियो संदेश मार्फत आफू झैँ छोरालाई माया गर्न आग्रह गरेकी छिन् । फिल्ममा बादल भट्ट, कमलमणी नेपाल, उर्मिला बस्नेत, ध्रुब कोईराला, सुनिता श्रेष्ठले पनि फिल्ममा अभिनय गर्नुभएको छ ।
सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा/सुजन चापागाईं/अनमोल गुरुङको संगीत र निर्देशक पौडेलको सम्पादन छ । बाबरी फिल्म्सको व्यानरमा निर्मित फिल्मलाई गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले निर्माण गरेका हुन् ।











