फिल्म । पछिल्लो समय गीतसंगीतहरु सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ । भिडियो सेयरिङ प्लेटफर्म टिकटकले गीतसंगीतलाई प्रचारप्रसार गर्यो । सर्जक पनि प्रचारप्रसारकै लागि जोडिएको पाईयो । टिकटकले सुरुवाती समयमा सर्जकको कामहरुलाई प्रचारमा सघाएको पनि हो । तर, पछिल्लो समय यो घातक पनि बनिरहेको छ । प्रचारप्रसार हुने टिकटकमा आजभोली चलचित्रका दृश्यहरू देख्न पाइन्छ ।
स-साना क्लिप आउँदा प्रचारप्रसार नै भइरहेको थियो । यद्दपि चलचित्रको महत्वपूर्ण दृश्यहरु भेटिदा चिन्ता बढेको छ । त्यति मात्र नभई चलचित्रको क्लिपहरु पार्ट-पार्ट गरेर टिकटकमा आउँदा यसले चलचित्र नै पाइरेसी भइरहेको छ । विशेषत दर्शकले रुचाउनु भएको चलचित्रको दृश्यहरु बढी पपुपर भइरहेका छन् । ए मेरो हजुर ४ , कबड्डी ४ पश्चात पछिल्लो समय झिँगेदाउलाई टिकटकले समस्या दिईरहेको छ ।
भिसिडी , पेनड्राइभ र युट्युब भन्दा घातक टिकटकको पाइरेसी देखिएको निर्देशक ज्ञानेन्द्र देउजा बताउनु हुन्छ । ‘स-सानो क्लिप आउँदा प्रचारप्रसार नै भएको हो । तर पार्ट-पार्ट गरेर हाल्दा सम्पूर्ण चलचित्र नै पाइरेसी भइरहेको छ । हामीले यस विषयमा नसोच्ने हो भने भोलि यो क्रम झनै बढ्ने छ’ उहाँले भन्नुभयो । युट्युबमा पनि पछिल्लो केहि समय यता पाइरेसी नभएका होइनन् । तर त्यहाँ रिपोर्ट गरेको केहि समयमै हट्छ ।
टिकटकमा भने समय लाग्ने निर्देशक देउजा बताउनु हुन्छ । ‘हामीले आफैँले वा प्रहरीको साइबर व्यूरो मार्फत रिपोर्ट गरेपछि हट्ने गरेको छ । तर यसमा केहि समय भने लाग्छ । २/३ दिन लाग्दा त्यो क्लिप निकै भाइरल भइसकेको हुन्छ । त्यसैले यसमा सतर्कता बढाउनु आवश्यक छ’ निर्देशक देउजाले बताउनु भयो । पछिल्लो समय छिटपुट रुपमा चलचित्रको क्लिप टिकटकबाट हटाउनु पर्ने गुनासोहरु आइरहेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरोको प्रवक्ता पशुपति कुमार रायले बताउनु भयो ।
‘हामीलाई प्राप्त रिपोर्ट अनुसार हामीले हटाउने गरेका छौँ । यो सामाजिक सञ्जाल मार्फत भएता पनि कपि राईट्स् अन्तर्गत बढी पर्छ । यद्दपि हामीलाई प्राप्त गुनासोको आधारमा हमिएल तुरुन्तै एक्सन लिने गरेका छौँ’ प्रवक्ता रायले बताउनु भयो । यो समस्यालाई हटाउन प्रहरीको सहितको सहयोगमा हल संचालकले सचेतना बढाउनु पर्ने निर्देशक देउजाको बुझाइ छ । उहाँले यो समस्याको बारेमा नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघमा पनि कुरा गरिसक्नु भएको छ ।
‘हामीले चलचित्र चल्नु अगाडी सचेतना संदेश दिनु पर्छ । चलचित्र हेर्दै गर्दा कसैले दृश्य कैद गरिरहनु भएको छ भने उहाँलाई सम्झाउने वा जरिवाना गर्ने हुनुपर्छ’ निर्देशक देउजाले बताउनु भयो । सचेतना मार्फत पनि अटेरी गर्नेलाई कानुनी कारवाही गर्नु पर्ने उहाँको भनाइ छ । टिकटकमै देखेर चलचित्र हेर्न आएका हौँ भन्ने पनि प्रतिक्रिया पाइरहेको नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले बताउनु भयो । उहाँ पछिल्लो समय फिचर्समा अपडेट भएर लामो भिडियो हाल्न पाइने भएपछि भने केहि समया बढेको स्वीकार्नु हुन्छ ।
‘प्रचारप्रसार पनि गरिरहेको छ भने केहि असर पनि गरेको छ । हामीले हलमा आउनुहुने दर्शकहरुलाई भिडियो नखिच्न आग्रह पनि गरिरहेका छौँ । हाम्रो कर्मचारीहरु बेलाबखतमा गएर मोबाइल निकाल्ने दर्शकलाई आग्रह पनि गर्नु हुन्छ । यद्दपि यसमा केहि निर्णय लिने सल्लाह भने गरिरहेका छौँ’ महासचिव महर्जनले बताउनु भयो । उहाँको अनुसार टिकटकलाई नै पत्राचार गरेर केहि गर्न सकिन्छ कि भन्ने सल्लाह संघले गरिरहेको छ ।
गत वर्ष प्रदर्शनमा आएको दक्षिण भारतीय फिल्म ‘पुष्पा’ को आधिकांश दृश्यहरु टिकटकमा पपुलर भएपछि चलचित्रको भिडियो क्लिप बनाउने क्रम बढेको छ । भारतीय चलचित्रहरु आरआरआर र केजीएफ : च्याप्टर २ को टिकटकमा भेटिएको दृश्यहरु जोड्ने हो भने संवत: चलचित्र नै बन्छ । विदेशी मात्र होइन स्वदेशी फिल्म ए मेरो हजुर ४ , कबड्डी ४ को पनि अन्तिम दृश्य टिकटक लगायतका सामजिक सञ्जालमा भाइरल हुँदा निर्माता तथा निर्देशकलाई घाटा लागेको थियो । पछिल्लो समय सामाजिक सञ्जालका माध्यममा पनि आफ्नो गतिविधिबारे जानकारी दिने प्रचलन बढ्दो भएकाले नै यसकिसिमको समस्याहरु देखिने गरेका छन् । आफ्ना गतिविधिलाई सोसल मिडिया फ्रेन्डली बनाउनुकै कारणले बढेको समस्याले लोकप्रियतासँगै समस्या निम्त्याएको हो ।












