पलको मुद्दामा तनहुँ अदालतले असोज २ गते तोक्यो पेशी

देश । अभिनेता पल शाहको मुद्दामा तनहुँ जिल्ला अदालतमा असोज २ गते सुनुवाई हुने भएको छ । बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका शाहको यसअघि गत भदौ १५ गतेका लागि तोकिएको पेशी स्थगित भएको थियो । नाबालिकमाथि जबर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै रिहा गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिए पनि अदालतले उक्त निवेदन अस्वीकृत गरिदिएको थियो ।

नायक शाहविरुद्ध नवलपुर अदालतले मंगलबार साढे दुई वर्ष कैद फैसला सुनाएको छ । नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले नायक शाहलाई बालयौन दुरुपयोगमा दुई वर्ष ६ महिना कैद फैसला सुनाएको हो । साथै २५ हजार जरिवाना र दश लाख क्षतिपूर्तिको फैसला भएको नवलपुर अदालतका श्रेस्तेदार महेन्द्रराज पौडेलले बताए । जबर्जस्ती करणी मुद्दामा अभियोगपत्र दर्ता भए पनि न्यायाधीशले बालयौन दुरुपयोगको कसुरमा शाहलाई कैदको फैसला सुनाएको अदाललते जनाएको छ । शाहविरुद्ध नवलपुर अदालतमा गत चैत ३ गते जबर्जस्ती करणी मुद्दा दर्ता भएको थियो ।

कमेन्ट गर्नुहोस्