केकीको श्रीमान् भन्छन् ,‘झिँगेदाउ रमाईलोसँगै संदेशमुलक छ’

फिल्म । फिल्म ‘झिँगेदाउ’ प्रदर्शनमा आएको पहिलो दिन अभिनेत्री केकी अधिकारीको श्रीमान् रोहित तिवारीले फिल्म हेरेका छन् । उनले केकीसँगै एक मल्टिप्लेक्समा फिल्म हेरेका हुन् । फिल्म हेरेर निस्किएपछि मिडियाकर्मीलाई प्रतिक्रिया दिदै उनले फिल्म राम्रो लागेको बताए । उनले केकीसँगै सबैको अभिनय राम्रो रहेको प्रतिक्रिया दिए ।

‘उसको (केकी) क्यारेक्टरमेहनत देखिन्छ । फिल्म राम्रो बनेको छ । यसले पारिवारिक महत्व समेत बुझाउँछ’ रोहितले भने । उनले फिल्मलाई परिवारले नै हेर्नु पर्ने बताए । ‘अहिले त परिवारमा यस्तो हुदैन । किनकी समाज फेरिएको छ । तर , यो कृति लेखिएको समय र सन्दर्भलाई देखाइएको छ । अहिले हेर्दा पनि रमाइलो र संदेश मुलक छ’उनले भने ।

फिल्म शोमा आँचल शर्मा , मुकुन भुषाल , कुशल विष्ट र निर्देशक ज्ञानेन्द्र देउजा समेत सहभागी थिए। ज्ञानेन्द्रको निर्देशनमा तयार फिल्म स्वर्गीय भीमनिधि तिवारीको सोहि नामको कृतिमा आधारित छ । आजभन्दा ५० वर्ष पुरानो समाजमा घट्ने गरेका घटनालाई फिल्मले मनोरञ्जक शैलीमा प्रस्तुत गरेको छ ।

आधुनिकता तर्फ उन्मुख समाजमा निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले प्राचीन नेपाली समाजको कथा लिएर आएका छन् । केहि वर्षको विश्राम पश्चात निर्माण तथा निर्देशनमा कमब्याक गरेका निर्देशक देउजा यसलाई ‘एभरग्रीन कथा’ भन्न रुचाउछन् । ‘यसलाई फिल्मको पर्दामा ल्याउने मेरो वर्षौं अगाडीको योजना हो । अहिले बल्ल आउँदैछ’ निर्देशक देउजा भन्छन् ,’फिल्मकै लागि लेखिएको कृति जस्तो लाग्छ । किनकी यो फन्नी छ , यसमा ड्रामा छ , सामाजिक संदेश छ । मैले निर्देशकको आँखाले यसमा फिल्मलाई चाहिने सम्पूर्ण पक्ष पाए ।’

फिल्म देउरानी–जेठानीको झगडामा केन्द्रित रहेको छ । यो फिल्ममा केकी अधिकारी र आँचल शर्मा देउरानी–जेठानी बनेका छन् । आँचलले केकी अधिकारीसँग काम गर्दा धेरै कुरा सिकेको बताउँदै उनले यो फिल्मबाट कलाकारको रुपमा आफूलाई थप फाइदा हुने बताउँछिन् । फिल्मले देउरानी–जेठानीले झिंगेदाउ खेल्ने क्रममा उत्पन्न हुने परिस्थितिका कथा बयान गर्छ । पुरानो समयमा सिक्का राखेर यो दाउ खेलिन्थ्यो र जुन सिक्कामा आएर झिंगा बस्छ त्यो खेल्नेको हुने प्रचलन थियो । त्यहिँ इभेन्टले आउँदो समयमा निर्माण गर्ने घटनाक्रम फिल्ममा देखाइएको छ ।

कलाकार मुकुन भुसालले फिल्मले २० को दशकको नेपालसँगै सामाजिक सम्बन्धलाई फिल्मले मनोरञ्जनक हिसाबले वाचन गरेको बताउँछन् । यो फिल्मले आमा र दुई दाजुभाइको कथा पनि पेश गर्छ । फिल्ममा कुशल बिष्ट भाइ बनेका छन् । फिल्ममा हिउँवाला गौतम, संगम भण्डारी, आयान खड्का र अभय बरालको पनि महत्वपूर्ण भूमिका रहेको छ । फिल्ममा पटकथा प्रदीप भारद्वाजको रहेको छ ।

फोटो सौजन्य : नविन कार्की
कमेन्ट गर्नुहोस्