सकियो ‘मितज्यू’को छायांकन

फिल्म । निर्देशक अनिल बुढा मगरले फिल्म ‘मितज्यू’को छायांकन सम्पन्न गरेका छन् । सुटिङ सुरु गरेको एक महिनामै फिल्मको सम्पूर्ण छायांकन सकिएको हो । निर्माता जनक घर्ती मगरका अनुसार कलाकार र प्राविधिक टिमको समन्वयका कारण तोकिएकै समयमा सुटिङ सम्पन्न गर्न सफल भएका हुन् ।

सामाजिक कथावस्तुमा आधारित यो फिल्म दाङ र रोल्पाका विभिन्न स्थानमा छायांकन गरिएको छ। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायत कलाकारको अभिनय रहनेछ। यसै फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी छन्।

निर्देशक मगरले छायांकन निकै सहज र रमाइलो वातावरणमा सम्पन्न भएको बताए। सबै पक्षको सहयोगका कारण एक महिनामै फिल्म खिच्न सफल भएको उनको भनाइ छ। ‘मितज्यू’ निर्देशक मगरको दोस्रो फिल्म हो। यसअघि उनले निर्देशन गरेको फिल्म ‘घरज्वाइँ’ सफल भएको थियो।

फिल्मका प्रोडक्सन म्यानेजर धनबहादुर राई (भान्जा) हुन् भने मुख्य सहायक निर्देशक फिरोज खड्काले जिम्मेवारी सम्हालेका छन्। सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई रहेका छन्। प्रोडक्सन डिजाइनर किशोर नेपाल, ड्रेस डिजाइनर संगीता रोका मगर र प्रतीक्षा भाट क्षेत्री, सम्पादक लोकश बज्राचार्य, छायाकार शिशिर बिशंखे तथा कार्यशाला भोलाराज सापकोटाले गरेका छन्।

फिल्ममा द्वन्द्व निर्देशन प्रभात विष्ट र साउन्ड डिजाइन नवीन श्रेष्ठको रहेको छ। संगीत श्रीकृष्ण बम मल्लको रहनेछ भने गीतमा संगीतकार मल्लसँगै मेलिन राई र लक्ष्मी मल्लको स्वर सुन्न सकिनेछ। आरआर फिल्म्स वितरक रहेको ‘मितज्यू’ आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।

कमेन्ट गर्नुहोस्