फिल्म । मिलन चाम्स निर्देशित पछिल्लो फिल्म ‘वर एण्ड वधु’ आउँदो फागुन १९ मा प्रदर्शन हुने भएको छ । रोमानियामा छायांकन सकेर नेपाल आएलगत्तै निर्माताले रिलिज घोषणा गरेका हुन् ।
रोमान्टिक कमेडी जनरामा तयार भइरहेको फिल्ममा आँचल शर्मासँग नवनायक विवेक कर्माचार्य लिड रोलमा छन्। विवेक यसै फिल्ममार्फत डेब्यु गर्दैछन्। रोमानियामा छायांकन उत्कृष्ट तरिकाले गरिएको र दर्शकले फरक स्वादको कथा हेर्न पाउने दाबी निर्देशक चाम्सको छ । फिल्ममा आँचल र विवेकसँगै विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, किरण केसी, बुद्धि तामाङ, हिमेश पन्त, रविना केसी र सृष्टि खड्काको समेत अभिनय रहनेछ । साम्राज्ञी राज्यलक्ष्मी शाह केमियो भूमिकामा हुनेछिन् ।
नेपालीसँगै हिन्दी भाषामा निर्माण हुने फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् । अन्तर्राष्ट्रिय बजारको खोजीमा फाइदा पुग्ने उद्देश्यले हिन्दी भाषामा समेत फिल्मलाई निर्माण गर्न लगिएको निर्देशक चाम्सले बताए । विवाहको परम्परालाई मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरिने फिल्मलाई सुदीप बरालले छायांकन गरिरहेका छन्। भदौ र असोजपछि नेपाली फिल्मका निर्माताको आँखा फागुन महिनामा बढी देखिएको छ । मंसिर ४ गते हुने संसदीय चुनाव र सोही दिनदेखि आउने विश्वकप फुटबलका कारण पनि धेरै निर्माता फागुन र चैतलाई फिल्मलाई लक्षित गरिरहेका छन् ।










