शिवरात्रिमा दर्शकसँगै पूजाले फिल्म हेर्ने

फिल्म । गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘म यस्तो गीत गाउँछु २’ ले व्यापार सुखद गरिरहेको वितरक करण श्रेष्ठले बताए । उनको दाबी अनुसार फिल्मले दुइ दिनमा नै एक करोड ८० लाखको ग्रस कलेक्सन गरिसकेको छ । ‘शुक्रबार ७० लाख र शनिवार १ करोड १० लाखको व्यापार गरेको हो’ करणले बताए । उनले फिल्म हेर्न हलसम्म आएका दर्शकले रुचाएको कारण आउँदा दिनमा यसको व्यापार अझै बढ्नेमा विश्वस्त रहेको बताए ।

‘फिल्म हेर्न आएका दर्शक निराश छैनन् । त्यसैले शिवरात्रिको फाइदा फिल्मलाई शतप्रतिशत हुन्छ’ वितरक श्रेष्ठले बताए । सुदर्शन थापा निर्देशनमा तयार फिल्ममा पल शाह , पूजा शर्मा , दिनेश डिसी लगायतका कलाकारहरुको अभिनय रहेको छ । म्युजिकल लभ स्टोरी भएकाले पल र पूजाको फ्यान फिल्मलाई रुचाइरहेका छन् । शिवरात्रिलाई लक्षित गर्दै फिल्म युनिटले कलाकार हलमा पुग्ने जानकारी दिएका छन् ।

निर्देशक थापाले सामाजिक सञ्जाल मार्फत दर्शकसँगै कलाकारले पनि शिवरात्रिमा फिल्म हेर्ने जनाए । उनको अनुसार मंगलवार १० बजे भक्तपुर स्थित क्युएफएक्समा , १२ बजे भक्तपुरकै बाराही मुभिजमा , १ बजे ग्वार्को स्थित गुण सिनेमामा , २ बजेर १५ मिनेटमा पुल्चोक स्थित लाबिम मलमा रहेको क्युएफएक्समा , ३ बजे किर्तिपुरमा रहेको किर्तिपुर सिनेप्लेक्समा , ४ बजेर ३० मिनेटमा कलंकी स्थित कलंकी सिनेमामा , ५ बजे बाइपास बालाजु स्थित अष्टनारायण हलमा र नाइट शोमा चाबहिल स्थित एफक्युबमा दर्शकसँग बसेर कलाकारले फिल्म हेर्नेछन् ।

यस्तै , फिल्म रिलिज भएपछि निर्माण पक्षले नयाँ गीत ‘पीडा भए नि’ सार्वजनिक गरेको छ । सार्वजनिक गीतमा अञ्जु पन्तको स्वर, अर्जुन पोखरेलको संगीत र दिग्गज धौरालीको शब्द छ । फिल्मको कथासँगै बग्ने गीतमा अभिनेत्री पूजा शर्मा छिन् । फिल्ममा सुदर्शन र पूजा निर्माता तथा जन्मजय साम्पाङ राई सह–निर्माताको रुपमा छन् । यसमा रामजी लामिछानेको कोरियोग्राफी, सुदर्शन थापाको कथा, शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा तथा संवाद, सौरभ लामाको छायांकन रहेको छ ।

कमेन्ट गर्नुहोस्