फिल्म । चलचित्र पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालको आयोजनामा तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सुरु भएको छ । फागुन ६ , ७ र ८ गते हुने कार्यशालाको सुरुवात बिहीवार चलचित्र विकास बोर्डको सभा हलमा एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । बोर्डको नवनिर्मित ‘नवरस हल’ मा सुरु भएको कार्यशालामा ४० बढी फोटो पत्रकारहरु सहभागी रहेका छन् ।
चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा भएको कार्यशालाको उद्घाटन सत्रमा फिल्म क्षेत्रसँग सम्बन्धित विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले तीन दिने कार्यशालाले पत्रकारहरुको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिकामा खेल्नेमा विश्वास व्यक्त गरे ।
अध्यक्ष दाहालले आफ्नो पेशाप्रतिको लगनशिलता र अनुशासनलाई सधैं पहिलो सर्त बनाउन पनि आग्रह गरे । यसैगरी चलचित्र निर्देशक तथा पुराना सञ्चारकर्मी दिनेश डिसीले पनि सिकाइ जारी राख्न आग्रह गरे । ‘सिकाइ जारी राखे मात्र प्रविधिसंगै अगाडी बढ्न सकिन्छ’ डिसीले भने ,’यो सिकाइलाई फिल्डमा प्रयोग गर्नु होला ।’
चलचित्र पत्रकार संघका अध्यक्ष सिटौलाले कोरोना महामारीको समयमा चलचित्र पत्रकारहरुले पत्रकारितालाई जारी राखेकोमा आभार व्यक्त गरे । नयाँ कार्यसमिति आएपछि व्यवसायिक चलचित्र पत्रकारितालाई प्रभावकारी बनाउन थुप्रै योजना बनाए पनि कोरोनाले सम्भव हुन नदिएको उनले बताए । उनले चाँडै संघले विभिन्न कार्यक्रमहरु लिएर आउने प्रतिवद्धता जनाएका छन् ।
कार्यशालामा हरी न्यौपाने, महेन्द्र विष्ट, विजय बस्याल, विष्णु कल्पित, राजन काफ्ले, दिनेश डिसी, दीपक गुरुङ, दीलिप थापा मगर, श्याम श्रेष्ठ र श्रीधर पौडेलले फोटोग्राफी र भिडियोग्राफीको बारेमा प्रशिक्षण दिनेछन् ।











