फिल्म । पौष १० देखि फिल्म हल खुल्ने भएसँगै फिल्म ‘लप्पन छप्पन २’ ले रिलिज डेट तय गरेको छ । कोरोना भाइरसले सिर्जित अवस्थाबाट विस्तारै सामान्य अवस्था तर्फ जनजीवन बढ्दै गर्दा फिल्म क्षेत्र पनि सक्रिय हुदैछ । मल्टीस्टार कास्ट रहेको फिल्म ‘लप्पन छप्पन २’ ले आउँदो शिवरात्रीको अवसर पारेर फिल्म प्रदर्शन गर्ने बताएको हो ।
निर्माण पक्षले डेट सहितको पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो । मुकुन्द भट्टद्धारा निर्माण तथा निर्देशित फिल्मलाई फागुन २७ मा दर्शकले हेर्न पाउने छन् । यस एक्सन ड्रामा फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ ।
खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको फिल्म मार्फत नै शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनयमा डेब्यु गर्दैछन् । यसको पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेले काम गरेका छन् । भने, पटकथामा अमित शर्माको पनि साथ छ । पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट एमआर आरजे, दीपक आरजे र बुलेट फ्लोको संगीत छ ।
किङ योगी र दिलिप ओकेडाको कोरियोग्राफी रहेको फिल्ममा हिमाल केसीसहित निर्देशक भट्टले एक्सन, निरज केसीले साउण्ड र मिलन श्रेष्ठले सम्पादनमा काम गरेका छन् । सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माता रहेको फिल्ममा समीर खरेल क्रियटिभ निर्माताको रुपमा रहेका छन् । भने, सह–निर्मातामा राजीव तामाङ, वेद बहादुर तामाङ, रानु तिमिला, ताराचन्द शर्मा र सुरज केसी छन् ।










