देश । दसैंको रौनकता बढेसँगै कोरोना भाइरस (कोभिड १९) को जोखिम पनि बढ्दो छ । यसैलाई मध्यनजर गर्दै शुक्रबार पार्टीको संगठन विभागले विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस पार्टीले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई हरेक वडामा कोभिड-१९ व्यवस्थापन क्याम्प सञ्चालन गर्न आग्रह गरेको छ । सरकारले आफ्नो दायित्वबाट पन्छिएर पूरै हात उठाएको हुँदा नेपाली कांग्रेसले आफ्नो भूमिका निर्वाह गर्न लागेको विज्ञप्तिमा उल्लेख गर्दै कार्यकर्तालाई अगाडी आएर सेवा गर्न आग्रह गरेको हो ।
क्याम्प सञ्चालन गर्न कार्यकर्ताहरूले कोभिड व्यवस्थापन समितिसँग समन्वय गरी वडामा रहेको आवश्यक बजेट समेत सदुपयोग गर्न विज्ञप्तिमा भनिएको छ । साथै, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको व्यवस्थापन नजिकैको स्वास्थ चौकी, अस्पताल तथा स्वास्थ मन्त्रालय अन्तर्गतका निकायहरूसँग समन्वय गर्न भनिएको छ।
त्यसैगरी, वडाहरूका उम्मेदवार भएका हारे/जितेका वडा अध्यक्षहरूको नेतृत्वमा एक समिति समेत बनाउन आग्रह गरेको छ। त्यस समितको रोहवरमा सञ्चालन हुनेगरी बैंक खाता सञ्चालन गर्न विभागले आह्वान गरेको छ। प्राप्त भएका रकम र खर्चका विवरण नेपाली कांग्रेसको केन्द्रीय कोभिड व्यवस्थापन समितिलाई बुझाउनु पर्ने विभागले जनाएको छ।











