फिल्म । राता मकै उपनामले परिचित हाँस्यकलाकार तथा निर्माता किरण केसीले आफ्नो परिवार र घरको महत्व बुझेको बताएका छन् । कलाकारितामा लागेसँगै घरमा पाहुना झैँ बनेका किरणले जीवनमै पहिलोपटक परिवारसँग यति लामो समय विताए । ‘पहिला घरमा भएपनि ध्यान बाहिर हुन्थ्यो तर यतिबेला घरमा परिवारसँगै छु’ किरणले भने । उनले आफ्नो परिवारसँग धेरै सिकेको र आफुले पनि सिकाएको बताए ।
‘यसपटक एकअर्कालाई सिकाउने र सिक्ने काम पनि भयो । मैले घरका कान्छा सदस्यहरु मार्फत अझै धेरै सिक्न पाए’ उनले भने । किरणले लकडाउनको समयमा पहिला झैँ समाजसेवा पनि गरे । सामाजिक कार्यमा सहभागिता जनाउदै आएका किरणले आफ्नो टोलसँगै अभाव भएका परिवारलाई खाद्यान्न वितरण गरे । ‘सहयोग गर्न पाउँदा निकै खुसि लाग्छ र लकडाउनले हामीलाई एकअर्काको सहयोगी हुन् प्रेरित गरेको छ’ किरणले भने ।
कला क्षेत्रमा लागेपछि बिहान उठेर निस्कने र बेलुकी घर फर्किने बानीलाई लकडाउनले परिवर्तन गरेको उनले बताए । उनले नगरपालिकाको माध्यमबाट १० हजार मास्क र सय बोरा चामल वितरण गर्नुका साथै हजार जनाभन्दा बढीलाई खाना खुवाएँको पनि जनाए । लकडाउन खुलेपछि उनि निर्माता रहेको फिल्म ‘लक्का जवान’ को काममा व्यस्त हुनेछन् । यसैगरी लकडाउनकै बीचमा आउँदो असार १५ मा आफ्नो जन्मदिनको अवसर पारेर एक कलाकार र एक पत्रकारलाई सम्मान सहित पुरस्कार प्रदान गर्ने उनले बताएका छन् ।












