विदेश । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण हाल खेलकुद रोकिएको छ । जापान हुने भनिएको ओलम्पिक एक वर्षलाई सारियो । यससँगै चर्चित युरोपियन लिग फुटबलहरू स्थगित छन् । आउँदो महिनाबाट नयाँ खेलहरु हुने भनिएता पनि पहिले जस्तो माहोल छैन । रङ्गशाला दर्शक विहिन हुनेछन ।
साथै , खेलको नियममा केहि अस्थायी परिवर्तन गरिने भएको छ। यसका लागि विश्व फुटबल महासंघ (फिफा) मा समेत प्रस्ताव पुगिसकेको छ। अस्थायी रूपमा फुटबलको केही नियम परिवर्तन गर्न फिफा पनि सहमत भएको हो । पुनः लिग सुचारु हुँदा सम्भवतः प्रत्येक टोलीले पाँचजना खेलाडी परिवर्तन गर्न पाउनेछन् । यसअघि एउटा टोलीले नियमित समयमा तीनजना मात्र खेलाडी परिवर्तन गर्न पाउने प्रावधान रहेको थियो।
यदि कुनै लिग सञ्चालकले यो नियम लागू गर्न नचाहेमा त्यो छुट पनि पाउने छन्। यसैगरी फिफाले भिडियो असिस्टेन्ड रेफ्री (भीएआर) को प्रयोग पनि केही समयका लागि स्थगित गर्ने भएको छ। दी इन्टरनेसनल फुटबल एसोसिएसन बोर्ड (आईएफएबी) को नियम बनाउने निकायले पनि यो प्रस्तावमा सहमति जनाइसकेको छ। यो दुवै नियम लिग सुचारु हुनासाथ लागू हुने बताइएको छ।
यसै क्रममा जर्मन बुन्डेस लिगा फुटबल अर्को साता सुचारु हुने घोषणा गरिसकिएको छ । इङ्लिस प्रिमियर लिग पनि अर्को महिना सुरु हुने बताइएको छ । इटालियन सिरिए फुटबल पनि छिट्टै सुचारु हुने तयारीमा छ। यसका लागि अधिकांश क्लबले आफ्ना खेलाडीलाई नियमित अभ्यासका लागि तयार रहन सूचना जारी गरिसकेका छन्। (एजेन्सी)









