प्रदेश नम्बर २ : स्वास्थ्यकर्मीलाई ५० लाख , कृषकलाई व्याजमा छुट

देश । चीनको वुहानमा गत वर्षको डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वको समस्या बनेको छ । एक मानिसबाट अर्को मानिसमा सर्ने भएकाले यतिबेला विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । नेपाल पनि गत चैत्र ११ गतेदेखि लकडाउनमा छ । लकडाउनले व्यवसायलाई असर गरेको छ नै कृषकलाई पनि उत्तिकै प्रभावित बनाएको छ ।

कृषकहरु आफ्नो बालीलाई लिएर चिन्तित छन् । यसैलेलाई मध्यनजर गर्दै प्रदेश नम्बर २ सरकारले केहि निर्णय गरेको छ । लकडाउनबाट प्रभावित किसानहरुले विभिन्न बैंक, वित्तीय संस्था वा सहकारीबाट लिएको ऋणको चार महिनाको ब्याज प्रदेश २ सरकारले तिर्ने भएको छ । प्रदेश २ मन्त्रिपरिषद्को बैठकले कृषि कर्मका लागि किसानहरुले लिएका ५ लाखसम्मको ऋणमा अधिकतम १२ प्रतिशतसम्मको ४ महिनाको ब्याज तिर्ने निर्णय गरेको छ । त्यसैगरी ५ लाखदेखि १५ लाखसम्मको ऋणमा १२ प्रतिशतसम्मको ब्याजदरमा ५० प्रतिशत, १५ लाख देखि ३० लाखसम्मको ऋणमा ४० प्रतिशत तथा ३० लाखभन्दा बढीको ऋणमा कृषिसहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्‌ले निर्णयगरेबमोजिम ब्याज तिरिदिने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमारयादवले जानकारी दिए।

यसका साथै लकडाउनका कारण प्रभावित बनेका दूध, फलफूल, तरकारी, कुखुरा तथा माछा उत्पादक किसानहरुलाई समेत राहत उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेकोछ । बैठकले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारमा खटिँदा संक्रमणबाट मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले एकमुष्ट ५० लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को शुक्रबार सम्पन्न बैठकले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारकार्यमा संलग्न हुने निजामती वा अन्य कर्मचारी, सरकारी, गैरसरकारी वा निजी क्षेत्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सहयोगी स्वास्थ्यकर्मी, वा अन्य कर्मचारी तथा पदाधिकारीको कोरोना संक्रमणबाट मृत्यु भएमा पीडित परिवारलाई ५० लाख राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको हो।

कमेन्ट गर्नुहोस्