विदेश । गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहानमा पहिलो पटक कोरोना भाइरस (कोभिड १९) को पुष्टी भयो । त्यसपछि महामारीको रुपमा फैलिएको यो भाइरस पछिल्लो समय विश्वकै टाउको दुखाइ बनेको छ । यतिबेला विश्वका अधिकांस सम्वृद्ध देश यसको औषधिको खोजि गरिरहेका छन् । तर , अहिलेसम्म सफलता मिलेको छैन । यद्दपी कोरोना भाइरसको उद्गम स्थल वुहान सहर बुधबारदेखि खुलेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मंगलबार मध्यरातिदेखि वुहानको लकडाउन हटाइएको हो ।
जनवरी २३ देखि वुहानलाई लकडाउन गरेको चीनमा ७६ दिनसम्मको लकडाउन अवधिभर वुहानका बासिन्दालाई खाद्यान्न खरिद वा अन्य अत्यावश्यक कामको लागि मात्र बाहिर जाने अनुमति थियो । चीनमा भाइरसका ८२ हजारभन्दा धेरै संक्रमित भेटिइसकेका छन् । साथै भाइरसबाट अहिलेसम्म चीनमा तीन हजार तीन सयभन्दा धेरै मानिसको मृत्यु पनि भइसकेको छ ।
वुहान चीनका ठूला उद्योगको केन्द्रको रुपमा रहेको छ । लकडाउन हटाइसँगै ठूला उद्योगले आफ्नो उत्पादन पुनः शुरु गरिसकेका छन् । लकडाउन खनुलेसँगै यहाँका मानिसहरुले कुनै विशेष अनुमति बिना नै बाहिर घुम्न पाउनेछन् । यो सहरमा एक करोड १० लाख मानिसको बसोबास छ । पछिल्लो समय चीनमा कोभिड–१९ को महामारी बिस्तारै नियन्त्रणमा आएसँगै चीनले लकडाउन हटाउन थालेको हो । (एजेन्सी)









