फिल्म । आउँदो भ्यालेनटाईन डेमा प्रदर्शनमा आउने फिल्म ‘लभ डायरिज’को नयाँ गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो । अर्जुन पोखरेल शब्द/संगीतवद्द ‘छम छम छम…’ बोलको गीतमा दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वर छ ।
सुशील श्रेष्ठ स्टारर फिल्म ‘लभ डायरिज’को नयाँ गीतलाई प्रविण सिंहले कोरियोग्राफ गरेका हुन् । गीतमा सुशीलसंगै रुबिना थापा, विश्वजित रिमाल र प्रिष्मा/प्रिन्सी खतिवडा र कमला घिमिरेलाई फिचर्ड गरिएको छ । टिक-टक भाइरलहुँदै म्युजिक भिडियोमा व्यस्त प्रिष्मा/प्रिन्सीलाई पहिलो पटक फिल्मको गीतमा फिचर्ड गरिएको हो ।
सौरभ चौधरी निर्देशित लभस्टोरी फिल्ममा सुशील, रुबिना र विश्वजितले मुख्य भूमिका निर्वाह गरेका छन् । संजय लामाले खिचेको सिनेमा मिलन श्रेष्ठले सम्पादन गरेका छन् । मधु बास्तोलाको कथा/पटकथा रहेको सिनेमामा सम्पादक साहिल खानले सह-निर्देशकको काम सम्हालेका छन् । विनोद सापकोटा निर्माता रहेको सिनेमामा सरोज तुलाधरको सह-निर्माण छ । फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्टले वितरण गर्नेछ ।










