फिल्म । ‘मर्ने कसैलाई रहर हुदैन’ फिल्म ‘नाईं नभन्नू ल २’ मा समावेश यो गीतबाट उदाए गायक प्रेम परियार । यसै फिल्मले उनलाई नेपाली रजतपटमा परिचित गरायो । त्यसपछि संगीतको अध्यन समेत गरिरहेका प्रेम अब नायक बन्ने भएका छन् । केही वर्षयता आवाजमा आएको परिवर्तनका कारण गीत गाउन कम गरेका उनले ‘पर्खी बसे फर्कि आउँछु’ नामक फिल्मबाट अभिनय करिअर सुरुवात गर्न लागेका हुन् । फिल्मको सोमबार दाङको तुलसीपुरमा शुभ मुहूर्त गरियो ।
‘वीराङ्गना’ फेम्ड निर्देशक राज बहादुर सानेको निर्देशन रहने फिल्मको मुहूर्तसँगै सोमबारबाट छायांकन पनि सुरु भएको छ । पुर्व उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक गिरीको प्रमुख आतिथ्यता गरिएको मुहूर्त कार्यक्रममा फिल्मका कलाकारहरु प्रेम परियार, समिक्षा बस्नेत र देव सागरले मुहूर्त सट दिए । फिल्ममा प्रेमसँग समिक्षाको जोडी बाँधिएको छ । रोशन कुमार थापा प्रस्तुतकर्ता रहेको फिल्ममा यम कान्त भण्डारी निर्माता र एकराज थापा सह-निर्माता रहेका छन् । प्रेमकथामा निर्माण हुने फिल्ममा पदम तामाङ, सुशिल गौतम, सुशिल पोखरेल, दिपक थापा, शुभम गौतम, डा.लोकराज पराजुली, हेमराज विसीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।
एउटी अपाङ्ग युवतीको यौवन अवस्थामा हुने रहर र जीवन संघर्षको कथा फिल्मले बोल्ने निर्देशक राज बहादुर सानेले बताए । फिल्ममा कविराज गहतराज, रामजी लामिछाने, राजकुमार वैश्य र राजन महर्जनको कोरियोग्राफी रहनेछ । बसन्त सापकोटा/एलिस कार्की/कृष्ण भारद्वाज/कर्साङ्ग लामाको संगीत र सानु कुमार महर्जनको द्वन्द रहने फिल्मलाई अरुण सुनारले खिच्नेछन् ।












