फिल्म । करीब १८ वर्षसम्म नेपाल टेलिभिजनमा प्रशारण भएको चर्चित हास्यटेलिसिरियल ‘हिजो आजका कुरा’ अब ठुलो पर्दामा आउने भएको छ । सिरियलकै प्रमुख कलाकार तथा निर्देशक सन्तोष पन्तका छोरा साकार पन्तले फिल्मको निर्देशन गर्नेछन् । तिहारपछि छायांकन सुरु हुने फिल्मको शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरियो ।
विदेशसँग सरोकार राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जाने सपना पूरा गर्न केही न केही गुमाउनु पर्ने विषयवस्तुमा फिल्म निर्माण हुने निर्देशक पन्तले जानकारी दिए । सन्तोष सन्त र साकार पन्तको कथालाई सन्दीप किस्नाले पटकथामा ढालेका छन् । रवि सायमीले फिल्म खिच्नेछन् । भने, हर्कुलस बस्नेतको संगीत रहनेछ ।
‘हिजो आजका कुरा’ सिरियलका प्रमुख कलाकार सन्तोष पन्त र रमा थपलियाकै प्रमुख भूमिका रहने फिल्ममा केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, जेविका कार्की, रमेश अधिकारी, सविन शाक्यसँगै नव-कलाकारद्वय विनायक कुइकेल, अनुष्का घिमिरेलगायतकोे अभिनय रहनेछ । पन्त फिल्म प्रोडक्ससनकोे ब्यानरमा फिल्म बन्न लागेको हो । सिरियल पनि यही कम्पनीबाट निर्माण भएको थियो । चर्चित सिरियलको नाम सापटी लिएर फिल्म निर्माण गर्नु आफ्नो लागि चुनौतीपूर्ण रहेको निर्देशनमा डेब्यू गर्न लागेका साकारले बताए ।
तस्वीरहरु : आर्यन बिमली











