चित्लाङमा पटकथा लेखन कार्यशाला

फिल्म । बुुधबारबाट मकवानपुरको पर्यटकीय स्थल चित्लाङमा पटकथा लेखन कार्यशाला सुरु भएको छ । पटकथा सिकाउन बलिउडका चर्चित फिल्म लेखक रोबिन भट्ट र हलिउडका स्क्रिप्ट राइटर जेफ मोनाहान चित्लाङ आइपुगेका छन् । कार्यशालालाई चलचित्र विकास बोर्डको सहयोगमा नेपाल फिल्म एन्ड कल्चर एकेडेमीले आयोजना गरेको हो । यसको उद्घाटन प्रदेश नम्बर ३ को आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले गरेका थिए । ‘फिल्म समाजको प्रतिबिम्ब हो, यसले सांस्कृतिक संरक्षणमा मद्दत पुर्याउछ,’उनले भने ।

त्यस्तै वरिष्ठ अभिनेता नीर शाहले नेपाली फिल्मलाई प्राज्ञिक पहिचान दिलाउन यस्ता वर्कशपले सहयोग पुर्याउने बताए । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले नेपाली फिल्मको पटकथा सुधारका लागि यो वकर्शपले भूमिका खेल्ने आशा व्यक्त गरे । ‘पटकथा फिल्मको मेरुदन्ड हो। यो बलियो भएन फिल्म बलियो हुनसक्दैन,’ उनले भने । हिन्दी फिल्महरु ‘बाजीगर’, ‘ओमकारा’, ‘कृष’, ‘चलते चलते’, ‘चेन्नइ एक्सप्रेस’ सहित बलिउडको ७० भन्दा बढी फिल्म लेखेका रोबिन भट्टले नेपाल आउने रहर भएपनि यतिबेला समय मिलेको बताए ।

‘नेपाल आउने रहर पहिला देखि नै थियो । आफ्नो लेखनयात्रा नेपालका लेखकसँग बाँड्न पाउँदा म साँच्चिकै उत्साहित छु,’ प्रशिक्षक भट्टले भने । त्यस्तै जेफ मोनाहन भने अमेरिकाको न्युयोर्क फिल्म एकेडेमीमा पढाउँछन् । जेफसँगै मिलेर रोबिनले पटकथा लेखनका शैली, अभ्यास र व्याकरण सिकाउँदै छन् । आयोजक एकेडेमीका अध्यक्ष केपी पाठकले नेपालमा फिल्म लेखकको कमीलाई महसुस गरी लेखन कार्यशाला आयोजना गरेको बताए ।

कार्यशालापछि सहभागी हरेकले एउटा पटकथा लेख्न पर्ने र त्यसबाट एक जना विजेता छान्ने बताइएको छ । उत्कृष्ट हुने पटकथालाई छोटो फिल्म बनाउनका लागि १ लाख नगद उपलब्ध गराउने अध्यक्ष पाठकले बताए । कार्यशाला चित्लाङको चित्लाङ रिसोर्टमा ७ दिनसम्म चल्नेछ । बुधबार उद्घाटन भएको कार्यशाला विहिबारबाट सुरु भएको छ ।

कमेन्ट गर्नुहोस्