सर्वसाधारणलाई फिल्म निर्माण बुझाउँदै अस्कर कलेज

फिल्म । फिल्मका विभिन्न विधामा औपचारिक शिक्षा दिँदै आएको अस्कर कलेज अफ फिल्म स्टडिजले एक दिनका लागि सर्वसाधारणलाई पनि फिल्म निर्माणका मुख्य विधामा जानकारी गराउने भएको छ । आउँदो शनिबार गर्न लागेको ओपन हाउस इभेन्टमा उक्त कलेजजमा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावकहरुलाई फिल्म निर्माण सम्बिन्ध जानकारी गराउन लागिएको हो । कलेजले गत सालबाट ओपन हाउस इभेन्टको थालनी गरेको हो । यसमा एक दिनका लागि फिल्मका विभिन्न विधाको बारेमा जानकारी गराइन्छ । कलेज तथा युनिभर्सिटीबारे आम मानिसलाई एक मुष्ट जानकारी दिन विदेशमा ओपन हाउस इभेन्ट गर्ने प्रचलन छ । यो अवसरमा सर्वसाधारणले पनि कलेज वा युनिभर्सिटीका बारेमा प्रत्यक्ष जानकारी लिने मौका पाउँछन् ।

त्रिभुवन विश्वबिद्यालयबाट सम्बन्धन लिएर ब्याचलर लेभलको कोर्स पढाउँदै आएको कलेजले शनिबार आगन्तुकलाई फिल्म निर्माणको सुरुवातदेखि पछिल्लो समयको प्रविधि भिएफएक्सबारे जानकारी गराउनेछ । ओपन हाउस इभेन्टमा कलेजका विद्यार्थी, अभिभावक तथा सर्वसाधारणले सहभागिता जनाउन पाउनेछन् ।

कलेजका एकेडेमिक निर्देशक मनोजबाबु पन्तले ओपन हाउसमा फिल्म निर्माण प्रक्रियाको सम्पूर्ण जानकारी राखिएको बताए । ‘क्यामरा आविष्कारका लागि प्रेरित गर्ने क्यामरा अब्सक्युरादेखि लिएर पछिल्लो जमानाको लेटेस्ट प्रविधि भिएफएक्सका बारेमा पनि जानकारी रहनेछ । एउटा फिल्म हलमा लाग्नुभन्दा अगाडि के के काम हुन्छ, यो दिन थाहा पाउन सकिन्छ’, पन्तले भने ।

इभेन्टमा क्यामराको विकास क्रमलाई पनि सहभागीले अवलोकन गर्ने अवसर पाउनेछन् । कलेजले नेपालमा लामो समय प्रचलनमा रहेको सुपर सिक्स्टिनदेखि रेडहुँदै ड्रोन क्यामरासमेत प्रदर्शनका लागि राख्नेछ । क्यामरासँगै इभेन्टमा कलेजका विद्यार्थीले आगन्तुकलाई अभिनयको शैली बुझाउन आफैंले अभिनय गरेर पनि देखाउनेछन् ।

कमेन्ट गर्नुहोस्