फिल्म । भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालबाट सहभागी हुँदै जी टीभीको कार्यक्रमको फाइनलमा पुगेर चौथो भएका आयुष केसीले नेपाली फिल्मका लागि गीत गाएका छन् । उनले उदय सोताङ्गको हिट गीत ‘हजार जुनीसम्म’ गाएका हुन् । फिल्ममा यसलाई रि-एरेञ्ज गरिएको छ । गीतलाई उदयले नै तयार पारेका हुन् । केहि दिन अगाडी आयुषले उदयकै उपस्थितिमा गीत रेकर्ड गराएका थिए । धेरै बाल गायकको स्वर रिजेक्ट गरेका उदयले आयुषले भने आफुलाई खुसि बनाएको बताए थिए ।
फिल्ममा उदय र आयुष दुवैको स्वरमा गीत रहनेछ भने निर्माण पक्षले आयुषको स्वर रहेको गीतलाई सार्वजनिक गरेको छ । गीतमा पवन चाम्लिङ्ग ‘किरण’ को शब्द र योगेन्द्र घातानीको संगीत रहेको छ । उदयको स्वरमा फिल्ममा गीत गाउँदै गरेको आर्यन सिग्देल देखिनेछन् भने आयुषको स्वरमा उनले चाइल्ड स्टार अनुभव रेग्मी । उदयले स्टुडियोमा रेकर्डिङको क्रममा आयुषलाई केहि सिकाएका थिए । ‘मैले दिएको शैलीलाई उसले छिटै टिप्यो , उ मेहेनती मात्र होइन् ज्ञानी पनि रहेछ’ आयुषलाई भेटेपछि उदयले खुसि हुँदै भनेका थिए ।

‘यो गीत मेरो निकै नजिकको गीत हो , त्यसैले अरुलाई दिदा निकै सोच विचार गरेर दिन्छु’ उदयले भने । आफ्नो सांगीतिक यात्रामा महत्वपूर्ण गीतको रुपमा उदयले ‘हजार जुनीसम्म’ लाई लिने गर्छन् । ‘मेरो करियरमा यसले निकै महत्व राखेको छ आश छ आयुषलाई पनि त्यस्तै हुनेछ’ उदयले आशिष दिए । आयुषले पनि उदयको गीतमा गाउँनु पाउँदा उत्साहित छन् । ‘मैले यो गीत गाउँन पाउनु नै एक किसिमको जीत हो’ आयुषले भने । आयुषले फिल्म ‘हजार जुनीसम्म’ मार्फत पार्श्वगायनमा डेब्यु गरेका हुन् । विकासराज आचार्यको निर्देशनमा तयार भईरहेको फिल्म आउँदो साउँन ३० मा रिलिज हुँदैछ ।

फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, संचिता लुइँटेल , अनुभव रेग्मी, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय छ । नाई नभन्नु ल सिरिजका निर्देशक विकासराजको निर्देशन रहेको फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाले तयार पारेका हुन् । यसमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् भने यसमा विशाल चाम्लिङ निर्माता छन् ।










