‘साईनोले नेपालीपन महसुस गरायो’

फिल्म । डेब्यु फिल्म ‘लालपुर्जा’ मा मिरुना मगरको चर्चा राम्रो नै भयो । नयाँ अनुहारलाई लिएर फिल्म निर्माण गर्न खोज्ने निर्माता तथा निर्देशकको रोजाइमा उनि पर्ने सम्भावना बढ्यो । तर फिल्मको व्यावसायिक असफलतासंगै उनको करियर सोचीए अनुसारको स्पिडमा गुड्न सकेन । उनले दोस्रो फिल्मको रुपमा अहिलेका जल्दाबल्दा अभिनेता प्रदीप खड्कासँग फिल्म ‘रोज’ गरिन् । तर, दुबै फिल्म बक्सअफिसमा असफल साबित भए । तर, ‘रोज’ ले निर्मातालाई खुसी बनाउन नसके पनि मिरुनालाई दुःखी भने बनाएन । उनी यो फिल्मबाट दर्शकको ठूलो वर्गमा राम्रैसँग चिनिइन् ।

उनको काम पनि रुचाइयो । त्यसपछि उनले साइनो र च च हुई फिल्ममा काम गरिन् । चकलेटी नायकको ट्याग पाएका आर्यन सिग्देलक जोडी बनेर प्रस्तुत हुनु अगाडी नै उनि ‘साइनो’ मार्फत दर्शकसमू पुग्दैछिन् । ‘फिल्मको कथावस्तु निकै मजबुत छ’ मिरुना भन्छिन् ‘दर्शकसँग फिल्मले मिठो साइनो गाँस्न सफल हुन्छ भन्नेमा पूर्ण विश्वास छ ।’ त्यसो त उनले फिल्म युनिटलाई नै आफ्नो परिवारको सदस्यको रुपमा लिईन् । उनले फिल्ममा काम गर्दा नेपाली कल्चरलाई पनि नजिकबाट चिन्ने मौका पाइन् । ‘फिल्मले मलाइ नेपाली संस्कृतिसंग नजिक बनायो किनकी म लण्डनमा हुर्केको’ उनले भनिन् ‘सुरुवाती समयमा सुहाउने कि नसुहाउने जुन कुरा आएको थियो त्यो टिमवर्कको सहयोगले गुनासो रहेन् ।’

यस फिल्मबाट उनले आफु भन्दा सिनियर कलाकारको आशिर्वाद पनि पाएको बताइन । उनले अघिल्ला दुई फिल्म ‘लालपूर्जा’ र ‘रोज’ मा शहरिया युवतीको भूमिका निभाएकी थिइन । ‘साइनो’ मा चाहिँ ग्रामिण परिवेशमा हुर्किएको युवतीको भूमिका छिन् । सम्झौता र प्रेमसंगै मानव बेचबिखनलाई समेत समेटिएको फिल्मको कथा अभिनेत्री मिरुनासंगै नव-अभिनेता राजकुमार र अभिनेत्री नीता ढुंगानाको वरिपरि घुमेको छ । फिल्मको कार्यकारी निर्मातामा शरण थापा छन् । अभिमन्यू ‘निरवी’ ले फिल्मको कथा तयार पारेका हुन् ।

फिल्ममा भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायतका कलाकारहरुको पनि अभिनय छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्म ‘साइनो’ रामेश्वर कार्कीले खिचेका हुन् । बनिश शाहको काँधमा सम्पादनको जिम्मेवारी छ । फिल्ममा रोशन विक्रम भट्टराईको द्वन्द्व रहेको छ ।

कमेन्ट गर्नुहोस्