‘मेरो प्रतिबद्धता पुरा गर्छु’ अध्यक्ष खड्का

फिल्म । नेपाल चलचित्र कलाकार संघमा रविन्द्र खड्का नेतृत्वको प्यानल निर्वाचित भएको छ । शनिवार भएको निर्वाचनमा पदाधिकारीतर्फ खड्का प्यानलको उपाध्यक्षका उम्मेदवार विनोद कुमार भट्टराई (९६) बाहेक सबै उम्मेदवार विजयी भएका छन् । नेकपाका सक्रिय कार्यकर्ता रहेका अध्यक्षमा निर्वाचित खड्काले आफ्नो प्रतिद्वन्द्वी सरिता लामिछानेलाई ५७ मत अन्तरले हराएका हुन् । खड्काको पक्षमा २१८ र लामिछानेलाई १६१ मत झरेको थियो ।

उपाध्यक्षमा अभिनेत्री रेजिना उप्रेतीले २४३ मत ल्याउँदै विजयी हासिल गरेकी छन् । उनलाई अन्य उम्मेदवारहरु मध्येकै सबैभन्दा धेरै मत झरेको थियो । उपाध्यक्षमा सानु कुमार ताम्राकार (१७५) पनि विजयी भएका छन् । उपाध्यक्षका उम्मेदवार मनोज केसी (१४२) ले भने हार बेहोरे । महासचिवमा सञ्जय खतिवडा (१५६) लाई ३१ मतले हराउँदै चेत बहादुर सिंह (१८७) विजयी भएका छन् । यस्तै, सचिव पदमा पनाह अधिकारी (१९४) ले मत ल्याउदै कविता गेलाल (१६९) लाई २५ मत अन्तरले हराएर विजयी हासिल गरिन् ।

यसअघि नै अध्यक्षमा निर्वाचित भएका खड्का प्यानलका सुनिल कटुवाल कोषाध्यक्षमा निर्विरोध चयन भइसकेका थिए । यस्तै, सह-कोषाध्यक्ष पदमा अभिनेत्री पवित्रा आचार्यले २२० मत ल्याएर जित हासिल गरिन् । उनका प्रतिस्पर्धी डि.बि बम्जनले १३३ मत पाएका थिए । शनिबार भएको निर्वाचनमा ३८७ जना कलाकारले मतदान गरेका थिए । यता १० जना निर्वाचित सदस्य तर्फ शितल केसी , जयकिशन बस्नेत, गोपाल नेपाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडाले विजयी हासिल गरे ।

तीन वर्षका लागि अध्यक्षको कार्यभार सम्हाल्ने खड्काले कलाकार संघलाई कलाकारहरुको साझा संस्थाको रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘मेरा प्रतिबद्धतालाई म जसरि पनि पुरा गर्ने नै छु’ उनले भने ‘कलाकार संघको आफ्नै भवनको निर्माण कार्य यथाशीघ्र सुरु हुनेछ ।’ सरिताले आफू पराजित भएपछि अध्यक्षमा निर्वाचित भएका खड्कालाई खादा र फूलको बुकेटद्वारा बधाई दिदै उनले अध्यक्षमा निर्वाचित खड्कालाई आफूले गरेको प्रतिवद्धता पूरा गर्न पनि आग्रह गरिन् ।

कमेन्ट गर्नुहोस्