फिल्म । अभिनेता खगेन्द्र लामिछाने निर्देशक बन्ने भएका छन् । ‘भर्सटायल अभिनेता’ उनि फिल्म ‘पानीफोटो’ बाट निर्देशनमा औपचारिक रुपमा होमिने भएका छन् । उनले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो निर्देशनमा फिल्म ‘पानीफोटो’ बन्ने घोषणा गरेका छन् । आफै लिखित नाटकलाई उनले फिल्मको स्वरुप दिएको बताएका छन् । ‘यो मेरो सपनानै थियो कि यसलाई फिल्म बनाउने किनकी म यो कथालाई धेरै दर्शक माँझ पुर्याउन चाहन्छु’ उनले भने ‘मैले नाटक मन्चनकै समयमा यसलाई फिल्म बनाउने निर्णय लिएको थिए ।’ उनले फिल्ममा झन्डै डेढ दशक अगाडी बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा- आमाको कथालाई देखाउनेछन् । यो फिल्म दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ को कथामा निर्माण हुन लागेको हो ।

अभिनेता टर्न निर्देशक खगेन्द्रले आफ्नो बाल्यकालका केही सम्झनाहरु पनि समावेश भएकाले ‘पानीफोटो’ नाटकलाई फिल्म बनाउने सपना बनेको स्मरण गरे । उनले आफूले फिल्म निर्माणमा लागेपछि सिकेका कुराहरुलाई सदुपयोग गरि इमान्दारितापूर्वक ‘पानीफोटो’ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । द्वन्दले हामीलाई क्षति नै पुर्याएको थियो , त्यसैले फेरी त्यो हुनुहुन्न भन्ने मान्यता साथ् इमान्दारिता पुर्वक फिल्म बनाउने प्रयाश गर्ने छु’ उनले भने । उनले यो समय द्वन्दको कथा भन्ने समय रहेको प्रतिक्रिया समेत दिए ।

‘त्यो समयमा द्वन्दको प्रभाव थियो त्यसैले हामीले केहि भन्दा एक पक्षलाई राम्रो र अर्कोलाई नराम्रो स्वत लाग्थ्यो तर अब सबैले बुझेका छन् र हामीले नयाँ पुस्तालाई बुझाउनु छ’ खगेन्द्रले भने । फिल्मका उनि एक कलाकार पनि हुन् भने लेखन पनि उनकै रहेको छ । त्यसो त उनलाई आफ्नो लेखन नरहने फिल्ममा काम नगर्ने गरेको आरोप पनि लाग्ने गरेको छ तर यसलाई उनि स्वीकार गर्दैनन् । ‘एक्टर मात्र भएर काम गर्न पाउनु निकै खुसिको कुरा हुन्छ तर मैले सकिरहेको छैन’ उनले भने ‘आउँदा दिनमा पनि मेरो प्रयास भने कलाकार मात्र हुने पनि हुनेछ ।’

टुकी आर्टस् र मञ्जुश्री फिल्म प्रोडक्सनको ब्यानरमा बन्ने यस फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गर्नेछन् । फिल्मलाई सन् २०२० मा रिलिज गर्ने लक्ष्य निर्माण टिमको छ । फिल्मलाई दीपक बज्राचार्यले खिच्नेछन् भने सम्पादन निमेष श्रेष्ठले गर्नेछन् । पुष्पा संगमले फिल्ममा पाश्र्व संगीत दिनेछन् । फिल्ममा खगेन्द्रसंगै सुनिल पोखरेल , अनुप बराल , निशा शर्मा पोखरेल , मेनुका प्रधान , प्रकाश घिमिरे , माओत्से गुरुङ , बुद्धि तामाङ्ग , कमलमणि नेपाल , अशान्त शर्मा , श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहेको छ । पशुपति प्रसाद र धनपति फिल्म निर्माण गरेको टुकी आर्ट्सले यस फिल्म निर्माणमा मन्जुश्री फिल्म्ससंग सहकार्य गरेको छ । फिल्ममा लेखन पनि खगेन्द्रकै रहेको छ भने यसमा चिफ एडीको रुपमा अनिल खड्का रहेका छन् ।













