फिल्म । पछिल्लो समय बलिउडका भाइजान सलमान खान चुलबुल पाण्डे अवतारमा छन् । उनले फिल्म दबंगको तेस्रो सिरिजको छायांकन सुरु गरिसकेका छन् । सेटबाट फिल्मको गीत छायांकन भइरहेको तस्वीर र भिडियो सार्वजनिक भएको थियो । उक्त तस्वीर सार्वजनिक भएपछी भारतीय पुरातत्व सर्वेक्षणले फिल्म युनिटलाई नोटिस पठाएको छ । नोटिसमा सेटलाई जल महलबाट हटाउन निर्देशन दिइएको छ । त्यहाँ छायांकनको क्रममा पुराना मुर्तीमा असर परेको भन्दै तुरुन्तै युनिटलाई हट्न निर्देशन दिइएको छ । यदि युनिटले त्यसो नगरेमा विभागले कडा कारवाही गर्दै छायांकन नै रोक्ने चेतावनी समेत दिएको छ । यस अगाडी पनि गीत छायांकनकै लिक्ड भिडियोमा नृत्यांगनाहरु शिव लिंग वरपर रहेको भन्दै हिन्दु महांसघले आपति जनाएको थियो ।
सलमानको सफल फिल्ममा पर्छ ‘दबंग’ । सन् २०१० मा रिलिज भएको दबंग हिट मात्र भएन , सलमानले फिल्ममा निर्वाह गरेको क्यारेक्टर ‘चुलबुल पाण्डे’ लाई पनि दर्शकले रुचाए । त्यसपछी दर्शकले यसको सिक्वेललाई सन् २०१२ मा हेरेका थिए । दबंगलाई अनुभव सिन्हाले निर्देशन गरेका थिए भने यसको सिक्वेललाई अरबाज खानले । अब यसको तेस्रो भाग अर्थात् ‘दबंग ३’ को शुटिङ सुरु भएको छ ।
शुटिङमा सलमान चुलबुल पाण्डेको अन्दाजमा देखिएका छन् । सलमानलाई चुलबुल अवतारमा हेर्न आतुर रहेका दर्शकले आउँदो क्रिसमसमा उनलाई हेर्न पाउने भएका छन् । भारतको छायाँकन सकाए लगतै सलमानले ‘दबंग ३’ लाई समय दिएका हुन् । फिल्मलाई सलमानकै नजिकका साथी प्रभुदेवाले निर्देशन गर्दैछन । प्रभुकै निर्देशनमा तयार भएको फिल्म ‘वान्टेड’ पछी सलमानको करियर उकालो लागेको थियो । फिल्ममा सलमानको को-स्टार सोनाक्षी सिन्हा छिन् भने अन्य कलाकारको बारेमा जानकारी दीएको छैन ।












