फिल्म । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘कागजपत्र’ ले रिलिजको पूर्वसन्ध्यामा विहिबार राजधानी स्थित क्युज सिनेमाजमा प्रिमियर गरेको छ । प्रिमियरमा फिल्मकर्मी र मिडियाकर्मीले हेरेर यसको विषयवस्तुलाई रुचाएको प्रतिक्रिया दिएका छन् । सार्वजनिक गीत माया संसारको कारण चर्चामा रहेको फिल्मलाई ट्रेलरका कारण प्रतिक्षित रहेको फिल्मलाई निर्देशक रामबाबु गुरुङ , अभिनेता दयाहाङ राई , गौरव पहाडी , अभिनेत्री वर्षा शिवाकोटीसँगै फिल्म युनिटले हेरेका थिए ।
फिल्म हेरेर निस्किएका दयाले भोलाराज सापकोटाको कामको प्रसंसा गरे । ‘भोलाको काम तारिफ योग्य छ , धेरै पछी म उसको कामले खुसि भए’ दयाले फिल्म हेरेपछि प्रतिक्रिया दिदै भने ‘ गहन विषयलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ ।’ दया झैँ निर्देशक रामबाबु गुरुङले पनि दर्शकले फिल्म हेरेर इन्जोय गर्ने बताए । ‘दर्शकले इन्जोय गर्ने फिल्म बनेको छ भने साथमा संदेश पनि छ’ उनले आफुलाई व्यक्तिगत रुपमा फिल्म मन परेको पनि बताए । वर्षाले पनि फिल्म मार्फत धेरै तथ्यलाई देखाइएको बताइन ।
‘फिल्ममा मनोरंजनसँगै संदेश पनि छ’ उनले भनिन् ‘सरल कथामा राम्रो प्रस्तुतीकरण छ ।’ प्रिमियरमा उपस्थित ‘कागजपत्र’ का कलाकारहरु नाजिर हुसेन , भोलाराज सापकोटा , सरिता गिरी , शिल्पा मास्केले पनि आफ्नो काम र फिल्म राम्रो बनेकोमा खुसि व्यक्त गरे । फिल्ममा कथा र निर्देशन अपिल विष्टको रहेको छ । ‘मैले झुम्कीमा कन्टेन त ल्याय तर त्यसलाई मनोरन्जनात्मक शैलीमा प्रस्तुत गर्न सकिन , त्यसैले यसपटक अघिल्लो गल्तिलाई सुधारेको छु’ अपिल भन्छन् ‘फिल्ममा दर्शकले आफ्नै वा छरछिमेकको कथा पाउनु हुनेछ ।’
आपसी सहमतिमा स्वार्थ पूर्तिका निमित कागजपत्र बनाउदै र आफ्न्तसँगै विवाह गरेर अष्ट्रेलिया जान चाहनेहरुको कथामा आधारित भएर निर्माण भएको फिल्मले दर्शकलाई संदेश दिने भन्दा पनि अवस्थाको ज्ञात गराउने उनले बताए । फिल्ममा अभिनेता नाजिर हुसेनसँग अभिनेत्री शिल्पा मास्केको प्रेम देखिइएको छन् , तर अष्ट्रेलिया जानका लागि उनले अभिनेत्री सरिता गिरीसँँग बैबाहिक जीवनमा बाँधिएका कलाकार भोलाराज सापकोेटासँग विवाह गरेकी छन् । इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको फिल्म वर्ल्डवाइड फिल्मस् र अस सिनेमाको संयूक्त व्यानरमा निर्माण भएको हो ।
लोकेन्द्र लेखक, जीवन भट्टराई, लक्ष्मी वर्देवा, अर्जेस रेग्मीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ । यसको निर्मातामा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी छन् । फिल्ममा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । फिल्ममा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत छ भने निमेष श्रेष्ठको सम्पादन रहेको छ । फिल्मलाई अस्ट्रेलियन सिनेमाटोग्राफर क्यस्मिर डिक्सनले खिचेका हुन् ।












